नेपालमा खिचिएको ‘उचाइँ’ आजबाट प्रदर्शनमा

नेपालमा छायांकन भएको बलिउडको चलचित्र ‘उचाइँ’ आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ । सूरज बडजात्या निर्देशित मल्टीस्टारर ‘उचाइँ’को २०७८ सालको कात्तिकमा करीब २५ दिन नेपालको खोटाङको नाम्चेदेखि लुक्ला, बेसीसहर, काठमाडौं र विभिन्न क्षेत्रमा छायांकन भएको थियो । यो अवधिमा निर्माण टिमले करीब २० करोड नेपालमा खर्च गरेको थियो । चलचित्रले मित्रताको कथा भन्ने छ । चलचित्रको ट्यागलाइनमा भनिएको छ, “मित्रता नै उनीहरुको प्रेरणा थियो।” चलचित्रमा परिणितीले नेपाली पदप्रदर्शकको भूमिका निर्वाह गरेकी छन् ।

शुक्रबार नेपालमा तीन फिल्म रिलिज भएका छन् । यस वर्षको प्रतीक्षित हलिउड फिल्म ‘वाकान्डा फरेभर’ र दुई बलिउड फिल्म ‘उचाइ’ र ‘रामसेतु’ रिलिज भएका छन् । यो साता स्वदेशी फिल्म भने रिलिज भएनन् ।

चलचित्रको छायांकनका लागि भारतीय कलाकारहरु अनुपम खेर, बोमन इरानी, परिणीति चोपडा, सारिका हसन लगायत नेपाल आएका थिए । चलचित्रमा अमिताभ बच्चनको पनि अभिनय रहेको छ । तर, उनी भने स्वास्थ्य अवस्थाका कारण नेपाल आउन सकेनन् । नेपालमा उनको भागको छायांकनका लागि डुब्लिकेटको प्रयोग गरिएको थियो ।

चलचित्रमा नेपाली कलाकारहरु परमिता आरएल राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी, सरोज प्रजु लगायतको पनि अभिनय छ । चलचित्रको नेपाल व्यवस्थापन थ्री ह्विलर्स कम्पनी हेरेको छ ।

Leave a Reply