‘ए मेरो हजुर ४’मा जी-बबको गीत

‘ए मेरो हजुर ४’मा जी-बब नामले चर्चित र्‍यापर सुदीप भण्डारीले गीत गाएका छन् । गीतमा उनकै शब्द र संगीत रहेको छ । उक्त गीतको बिहिबार टिजर समेत सार्वजनिक गरिएको थियो र पुरा गीत आज सार्वजनिक हुँदै छ । त्यस्तै, गीतको भिडियोमा गायक भण्डारी आफैं फिचर छन् । बुधवार उक्त गीतको काठमाडौंको एक रेस्टुरेन्टमा छायांकन भएको थियो । एएनटीएफ गायन प्रतिस्पर्धाबाट चर्चामा आएका ‘मिलेन लेभल तेरो’ गीतका गायक जी-बब सामाजिक सञ्जालमा भाइरल छन् ।

आगामी वैशाख १ गतेबाट प्रदर्शन हुने चलचित्र ‘ए मेरो हजुर ४’बाट चलचित्रको एक गीतमा दुर्गेश थापाले र्‍यापरको भूमिकामा अभिनय गरेका थिए । तर चलचित्रमा रहेको दुर्गेशको डेढ मिनेट लामो दृश्यलाई हटाइएको छ । दुर्गेशको आवाजमा रहेको चलचित्रको गीत केही दिनमा सार्वजनिक गर्ने तयारीमा निर्माण टिम थियो । तर, वर्तमान परिस्थितिलाई ध्यान दिंदै दुर्गेश प्रस्तुत भएको दृश्यले चलचित्रलाई असर पर्ने देखेपछि निर्माण टिमले उनी देखिएको दृश्य हटाएको छ । दुर्गेश फिचर भएको गीतको ठाउँमा निर्माण टिमले जी-बबको गीतलाई समावेश गरेको छ ।

सुनिल कुमार थापा प्रोडक्शनको ब्यानरमा बनेको यो चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । ‘ए मेरो हजुर ४’ मा अनमोल र सुहाना संगै सलोन बस्नेत,सुशान्त खत्रीको पनि मुख्य भूमिका रहेको छ । चलचित्रमा बसन्त सापकोटा, आशिष अविरल, प्रतिक पौडेल, कल्याण सिंहको संगीत, संजय लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको एक्सन, मित्र डी गुरुङको सम्पादन छ ।

Leave a Reply