‘म यस्तो गीत गाउँछु २’ को दोस्रो गीत ‘दुःखको काँडा’ सार्वजनिक : (भिडियो)

वर्षमा एउटा मात्र चलचित्र लिएर आउने सुदर्शन थापा यस वर्ष चलचित्र ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल दर्शकमाझ पस्कँदैछन् । थापाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को दोस्रो गीत बिहीबार सार्वजनिक भएको छ । ‘दुःखको काँडा’ बोलको रोमान्टिक गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत, देवल भण्डारीको शब्द रहेको छ भने स्वर ‘द भ्वाइस अफ नेपाल’ सिजन २ का फाइनलिस्ट सनिष श्रेष्ठको रहेको छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा फिचर्ड छन् र दुइको केमेस्ट्री पनि सुहाएको देखिन्छ । गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् भने साजन शाहले मिक्सिङ गरेका हुन् । अडियो तथा भिडियो निकै सशक्त रहेको गीतले प्रेम भाव बोकेको छ ।

यसअघि सार्वजनिक भएको चलचित्रको पहिलो ‘तिम्रो घरको वरिपरि’ बोलको गीतले सकारात्मक प्रतिक्रिया बटुल्दै गरेको छ। यूट्युब रिलिजको पाँच दिनमा यो गीतमाथि १७ लाखभन्दा बढीको नजर परेको थियो।

पल र पूजाको जोडीलाई दर्शकले ‘म यस्तो गीत गाउँछु’मा रुचाइसकेका छन् । फागुन २३ गतेबाट प्रदर्शनमा आउने ‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ ।

सुदर्शन थापा र पूजा शर्मा निर्माता रहेको चलचित्रमा जन्मजय साम्पाङ राई सह–निर्माताको रुपमा छन् । रीच इन्टरटेन्मेन्ट र जीजीए ग्रुपले काठमाण्डौ र एफडी कम्पनीले काठमाण्डौ बाहिर चलचित्रको वितरण गर्नेछ । सांगीतिक प्रेम कथामा तयार भएको यो चलचित्रमा सुरज आचार्य र सुदिप ढकाल निर्माण नियन्त्रकको रुपमा छन्।

Leave a Reply