परमिताले घटनाको २६ औं दिनमा माफी माग्दै भनिन्- ‘कार चालकले मादक पदार्थ सेवन गरेका थिए’

गत मंसिर  २८ गते बिहान बूढानीलकण्ठमा पैदलयात्री लीला देवकोटालाई ठक्कर दिई मार्ने कारमा सवार रहेको भनिएकी मोडल तथा नायिका परमिता राज्यलक्ष्मीले घटना भएको २६ औं दिनमा माफी मागेकी छन् ।

परमिताले फेसबुकमा लामो स्ट्याटस लेख्दै सो दिन कारचालक पृथ्वी मल्लले मादकपदार्थ सेवन गरेर गाडी चलाएको स्वीकारेकी छन्। उनले सो घटनाप्रति दु:ख व्यक्त गर्दै आफू सो दुखद घटनाको अंग बन्नु परेकोमा स्तब्ध रहेको उल्लेख गरेकी छन्।

‘पहिला त म सबैसँग क्षमाप्रार्थी छु। हामी चारजनाको वेवकुफीले एकजना निर्दोषको ज्यान गएको छ। त्योदिन भएको घटना सत्य नहोस् र मात्र एउटा नराम्रो सपना होस् भन्ने मेरो चाहना छ, तर दुर्भाग्य म पनि त्यही कारमा सवार थिएँ। आफ्नो कुरा राख्न यति ढिला गरेकोमा म फेरिपनि माफि माग्न चाहन्छु,’ उनले स्ट्याटसमा लेखेकी छन्।

यस्तै उनले आफूसँग मादकपदार्थ सेवन गरेका व्यक्तिले चलाएको उक्त गाडी नचढ्ने विकल्प हुँदाहुँदै पनि चढेर जीवनको ठूलो गल्ती गरेको र त्यसबाट सदाका लागि पाठ सिकेको बताएकी छन्।

बूढानीलकण्ठ नगरपालिका–५ स्थित बूढानीलकण्ठ स्कुलनजिकै सडकपेटीमा हिँडिरहेकी बारपाक गाउँपालिका–८ गोरखाकी लीला देवकोटालाई मंसिर २८ गते शनिबार बा १४ च ६१२३ नम्बरको सुजुकी कारले ठक्कर दिएको थियो।देवकोटालाई तत्कालै बाँसबारीस्थित न्युरो अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

Leave a Reply