‘दुई नम्बरी’को एक साताको कमाई साढे चार करोड

दशैंको अवसर पारेर असोज २१ गतेबाट प्रदर्शनमा आएको निर्देशक दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘२ नम्बरी’ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । दर्शकबाट बलियो ‘वर्ड अफ माउथ’ पाएको कारण चलचित्रको सिंगल थिएटर र मल्टीप्लेक्स दुवैतिर दर्शक अकुपेन्सी राम्रो छ । दोस्रो सातामा पनि हलहरुमा ‘दुई नम्बरी’को अकुपेन्सी उत्साहजनक रहेको छ। चलचित्रले सात दिनमा ४ करोड ४५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

सोही अवधिमा काठमाडौं उपत्यकामा २ करोड २० लाख, चितवनमा ५० लाख, पोखरामा ३० लाख, बुटवलमा २३ लाख, इटहरीमा २२ लाख, नेपालगञ्जमा १५ लाख, दमकमा १५ लाख, बिर्तामोडमा १४ लाख, विराटनगरमा १२ लाख, हेटौडामा १० लाख, धनगढीमा १० लाख, धरानमा ५ लाख, सुर्खेतमा ४ लाख ग्रस कमाएको जनाइएको छ । यसबाहेकका ठाउँबाट चलचित्रले अनुमानित १५ लाख ग्रस कमाएको उल्लेख छ ।

चलचित्रले पहिलो सप्ताहमा मुनाफा कमाइसकेकोले निर्माण टिमले प्राविधिकहरुलाई बोनस बाँड्ने निर्णय पनि गरेको छ । बोनस रकम कति दिने भन्नेबारेमा केही फाइनल भएको छैन । अभिनेता द्वय दयाहाङ राई र सौगात मल्ल अभिनित चलचित्रलाई दर्शकले निकै मनपराएका छन् । चलचित्रमा उगेन छोदेन (भुटानी अभिनेत्री), उपासना सिंह ठकुरी र बुद्धि तामाङको पनि मुख्य भूमिका रहेको छ । चलचित्रमा दयाहाङ र उगेन तथा सौगात र उपासनाको जोडी बाँधिएको छ । चलचित्रको सम्पूर्ण कास्कीको छायांकन ल्वाङ गाउँमा भएको हो ।

एउटा सुन्दर गाउँका २ जना साथी, उनीहरुको मित्रता र दुश्मनीको कथा भन्ने चलचित्र ‘२ नम्बरी’ले समाजमा हुने गरेका २ नम्बरी कामलाई पनि उठान गरेको छ । रेड बर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा कार्यकारी निर्माताको रुपमा किरण नेपाली छन् । चलचित्रमा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) र अमलादेवी राईको लगानी छ । भने, कार्यकारी निर्माता सरोज नेपाली हुन् । चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

Leave a Reply