दीपाश्रीले पस्किइन् १० रुपैयाँमा भात

विराटनगरमा एक सातादेखि जारी रहेको १० रुपैयाँमै पेटभरि खाना खान पाइने अभियानलाई सहयोग गर्नका लागि चर्चित नायिका तथा निर्देशक दीपाश्री निरौलाले शुक्रबार आफैं खान पस्किइन् ।

काठमाडौँबाट विराटनगर आएर बिहान ११ बजे मेनरोडस्थित जैनभवन अगाडिको स्टलमा पुगेर दीपा सर्वसाधारणलाई खाना पस्कन व्यस्त देखिइन् । आफू जन्मेकै ठाउँमा आएर आफैं खान पस्केर दाजुभाइ तथा दिदीबहिनीहरूलाई खुवाउन पाउँदा खुसी लागेको छ दीपाले सुनाइन् । साथै उनले आफ्नो तथा परिवारको जन्मदिन र अन्य अवसरमा अभियानलाई सहयोग गर्ने बताएकी छन् ।

उनले यो अभियान सकारात्मक भएको हुनाले अभियानलाई निरन्तरता दिनुपर्छ भनेर बताइन् । विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले पनि बिहीबार जैन भवनअगाडि राखिएको स्टलमा पुगेर १० रुपैयाँ तिरेर खाना खाएका थिए । उनले पनि अभियान राम्रो भएको कारणले यसलाई निरन्तरता दिन महानगरले पनि सहयोग गर्ने बताउँदै आफूले पनि एक दिन सोही स्टलमा खाना खुवाउने प्रतिवद्धता जनाएका छन् ।

काली मन्दिर अगाडिबाट सुरु भएको अभियानमा भीड बढेसँगै मेनरोडको जैनभवनअघि सारिएको हो ।

Leave a Reply