आउँदो मंसिरमा चलचित्र ‘अञ्जली’ प्रदर्शन हुने

चलचित्र ‘अञ्जली’ आउँदो मंसिरमा प्रदर्शन हुने भएको छ । दिनेश लिङ्देनको निर्देशन र कथा रहेको चलचित्रलाई कविता राई लिङ्देन, मणि ताम्लिङ र राम दाहाल निर्माण गरेका हुन् ।

घरेलु हिंसा तथा बालबालिका अपहरणको विषयमा निर्माणाधीन चलचित्र ‘अञ्जली’मा एलिना बास्कोटा, विमला खजुम लिम्बू, हाङ चेम्जोङ, यासेली योङहाङ, विमला गिरी, शर्मिला शर्मा, नरेश वनेम, सागर केरुङ, विशाल सेनेहाङ, दिविसा सापकोटा, जनक कार्की, नन्दु तुम्बापो, अजय खड्का, दिनेश माङमु, पुन्य ओझा, माइकल तुम्बापो, बिमल ढुंगेल, दावा शेर्पा, पे्रम आले मगरलगायतका कलाकारको अभिनय छ।

२०१६ मा प्रदर्शन भएको चलचित्र ‘च्याम्पियन’ पछि नयाँ चलचित्रमा काम नगरेका अभिनेता दिक्पालले ‘अञ्जली’ बाट ५ वर्षपछि अभिनयमा पुनरागमन गरेका हुन् । चलचित्रमा उनी अतिथी भूमिकामा देखिने छन् ।

फाल्गुनन्द लिङ्देन फिल्मस्को ब्यानरमा निर्मित यस चलचित्रको हाल राजधानीका विभिन्न स्थानमा छायांकन भइरहेको छ। सुशील अधिकारीको छायांकन रहेको चलचित्रमा पुण्य ओझाको द्वन्द्व, दिनेश माङमुको नृत्य निर्देशन रहेको छ ।

नेपाल चलचित्र संघले यही असोज २१ गते घटस्थापनाबाट देशभरका सिनेमा हल खुलाउने निर्णय गरेसँगै निर्माण सकेर बसेका र छायांकनरत चलचित्रले प्रदर्शन मिति घोषणा गर्न थालेका छन् । यसबीच, गत एक हप्तादेखि उपत्यकामा छायांकन भइरहेको चलचित्र ‘अञ्जली’ आउँदो मंसिरमा प्रदर्शन हुने भएको छ । छायांकन पूरा भएपछि प्रदर्शन मिति घोषणा गर्ने तयारीमा निर्माण टिम छ ।

सरकारले हल खोल्न अनुमति दिएपछि ‘ए मेरो हजुर ४’ ले चैत २५ गते र ‘लप्पन छप्पन २’ ले फागुन १३ गतेलाई रिलिज डेट घोषणा गरेको छ । चलचित्र रिलिजका लागि दशैं विदा सबैभन्दा राम्रो मानिन्छ । गत वर्ष दशैंमा कोरोनाका कारण सिनेमा हल सुनसान भए । यस वर्षको दशैंमा भने नयाँ चलचित्र रिलिज हुने भएको छ ।

Leave a Reply