‘सरी मम’को फर्स्टलुक पोस्टरमा सरोजदेखि सरितासम्म

लागुऔषध दुर्व्यसनीको कथा समेटेर तयार पारिएको चलचित्र ‘सरी मम’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । सामाजिक कथावस्तुमा बनेको चलचित्रको पोस्टरमा आमा र छोराबीचको सम्बन्धलाई प्रतिकात्मक रूपमा देखाइएको छ । अभिनेता सरोज खनाल, कलाकार सरिता लामिछानेसहितका कलाकारहरू पोस्टरमा छाएका छन् ।

चलचित्रलाई नविन बोगटीले निर्देशन गरेका हुन् । राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पछिल्लो समय दुर्व्यसनीका घटना बढिरहँदा कुलतमा फसेका युवायुवतीलाई लक्षित गरि चलचित्रमार्फत चेतनामुलक सन्देश दिने उद्देश्यले ‘सरी मम’ बनाएको चलचित्रका कार्यकारी निर्माता विनोद लामाले बताए । चलचित्रलाई देशका सातै प्रदेशमा प्रदर्शन गरिने निर्माण टिमले बताएको छ । चलचित्रको कथा पनि लामाको नै हो । ‘सरी मम’ एक चलचित्रमात्र नभएर कुलत बिरुद्धको सामाजिक अभियान समेत रहेको निर्देशक बोगटी बताउँछन् ।

दशैँ लगत्तै स्थानिय स्तरमा प्रदेश सरकार, नगरपालिका, गाउँपालिका, नेपाल प्रहरीसँगै शिक्षा क्षेत्रमा कृयाशिल संस्थाहरू प्याब्सन , एन-प्याब्स , हिसान , शिक्षक महासंघ लगायतसँगको सहकार्यमा विभिन्न स्थानमा अभियानको रूपमा समुदायस्तरमा चलचित्रको प्रदर्शनी गरिने निर्माण टिमले बताएको छ । चलचित्रको प्रदर्शनीमा नेपाल जेसिजले समेत सहकार्य गरेको छ । जेसिजका देशभरीका १ सय ७४ वटा शाखाहरूले समेत प्रदर्शनीमा सहकार्य गर्नेछन् ।

चलचित्रमा सरोज खनाल र सरिता लामिछानेसँगै एलिस राई, प्रभात पल , प्रविल कडेल , आरबि कटुवाल , बिहान श्रेष्ठ, युनिसा बजगाइँ , रेजिना मगर , सरोज बखुरेल, लालमणि भण्डारी अभिनयमा छन् । चलचित्रमा दीर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष वुढाथोकी र सरोज पौडेलले लेखेको चलचित्रका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ छन् । एनएफआई क्रियशनको तर्फबाट चलचित्र निर्माण भएको हो ।

Leave a Reply