‘के घर के डेरा’को टिजर सार्वजनिक

दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक भएको १ मिनेट ५८ सेकेन्ड लम्बाईको टिजरमा काठमाडौंमा बस्ने दुई परिवारको कथालाई देखाइएको छ । दयाहाङ र विपिनसहित टिजरमा सुरक्षा पन्त र वर्षा राउत समेत फिचर्ड छन् । टिजरमा काठमाडौंमा घर किन्न संघर्ष गरिरहेका र घर भएर पनि लुकाउन बाध्य पात्रहरुको दौडधुप प्रस्तुत गरिएको छ । चलचित्रको डिजिटल राइट्स खरिद गरेको कम्पनी जी-२१ डिजिटलको यूट्युब च्यानलबाट टिजर सार्वजनिक गरिएको हो ।

तिहारलाई लक्षित गर्दै कात्तिक ४ गते प्रदर्शन हुने चलचित्रको सम्पूर्ण छायांकन काठमाडौंमा भएको हो । चलचित्रमा अभिनेता द्वय दयाहाङ राई र विपिन कार्की, सुरक्षा पन्त, रविन्द्र झा, वर्षा राउतसँगै लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रमा दिर्घ गुरुङको छायांकन, शंकर थापा स्माइलको संगीत, डिपी खनालको गीत रचना, दिर्घ खड्काको सम्पादन, याम प्रसाद वली प्रोडकसन डिजाइनर र तारानाथ न्यौपाले मुख्य सहायक निर्देशकको रुपमा रहनेछन् । दुई वर्ष अगाडि निर्माण घोषणा भएको चलचित्रलाई यसअघि सुव्रतराज आचार्यले गर्ने भनिएको थियो ।

ए प्लस इन्टरटेनमेन्दको व्यानरमा निर्माण हुने चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् । चलचित्रमा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहेका छन् । सिंगे लामाको कथा रहेको चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरुको कथामा बन्न लागेको चलचित्रलाई जिजिए ग्रुप (करण श्रेष्ठ) ले वितरण गर्नेछ ।

Leave a Reply