‘प्रेमगीत ३’को गीतमा प्रदीप र क्रिस्टिनाको रोमान्स

हिन्दी र नेपाली भाषामा निर्माण भएको यस वर्षको बहुप्रतिक्षीत चलचित्र मध्ये एक ‘प्रेम गीत ३’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘हर युग होस्’ बोलको गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर, राजेश श्रेष्ठको शब्द र एलिस कार्कीको संगीत छ । हिन्दी भर्सनको ‘तुम प्यार हो’ बोलको रोमान्टिक गीतमा भारतकी चर्चित पार्श्व गायिका पलक मुच्छल र अंकित तिवारीको स्वर रहेको छ भने कुमारको शब्द रचना र असलम केयीको संगीत छ ।

हिन्दी र नेपाली भर्सनको गीतको भिडियोमा एउटै दृश्यहरु प्रस्तुत छन् । प्रेम भाव बोकेको गीतमा प्रदीप खड्का र नव-अभिनेत्री क्रिस्टिना गुरुङको रोमान्स देख्न सकिन्छ र यी दुईको केमेस्ट्री निकै सुहाएको छ । ‘प्रेमगीत ३’ हिन्दी भाषामा डब भएर भारतका हलमा प्रदर्शन हुन लागेको पहिलो नेपाली चलचित्र हो । चलचित्रको यसअघि हिन्दी र नेपाली दुवै भर्सनमा टिजर र ट्रेलर रिलिज भइसकेको छ ।

चलचित्र दशैँको अवसरमा घटस्थापनाको तीन दिन अगाडि अर्थात् असोज ७ गते नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने छ । चलचित्रलाई स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका हुन् । चलचित्रमा प्रदीप तेस्रो पटक ‘प्रेम’को रुपमा देखिँदैछन् भने नव-अभिनेत्री क्रिस्टिना गुरुङ ‘गीत’ र सन्तोष आफैँ ‘अंगत’को भूमिकामा पर्दामा देखिनेछन् । प्रदीप र क्रिस्टिनाका साथमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको पनि अभिनय हेर्न सकिनेछ ।

सन्तोष सेनको लगानीमा बन्न लागेको चलचित्रमा चत्र बहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्माताको रुपमा रहेका छन् । कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको चलचित्रमा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
नेपाली भर्सनको गीत :-

हिन्दी भर्सनको गीत :-

Leave a Reply