भारतीय प्रसिद्ध गायिका आशा भोस्ले बुधबार नेपाल आउँदै

साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतीय प्रसिद्ध गायिका आशा भोस्ले बुधबार नेपाल आउँदै छिन् । शनिबार सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा यहाँ तीनचार वटा गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले बताए ।

भोस्लेलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिने छन् । यसअघि केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इन्द्रजीत मिजारलगायत कलाकार नेपाल आइसकेका छन् । ८० वर्षीया गायिका भोस्लेले लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत स्थानको पनि भ्रमण गर्ने बताइएको छ ।

भोस्लेको यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसार, के सोचेँ मैले के भयो अहिले, किन बढ्दै छ ढुकढुकी मुटुको, पहाडको माथिमाथि, तिम्रो मनमा लुकेको कुरा, टाढा भई नजाऊ कहिल्यै लगायत नेपाली गीत चर्चित छन् ।

नेपाल भ्रमण वर्षलाई प्रर्वद्धन गर्न गायिका भोस्लेको नेपाल भ्रमणले योगदान दिने मोक्तानको भनाइ छ ।

Leave a Reply