सौगात र सृष्टिको ‘माइकल अधिकारी’ हेर्न बलिउड निर्देशक इम्तियाज अलीको आग्रह

‘रियल कपल’ सौगात मल्ल र सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहेको चलचित्र ‘माइकल अधिकारी’लाई बलिउडका चर्चित निर्देशक इम्तियाज अलीले एक भिडियो सन्देशमार्फत् प्रदर्शनको शुभकामना दिएका छन् । साथै, उनले नेपाली दर्शकहरुलाई सिनेमा हलमा गएर चलचित्र हेर्न आग्रह पनि गरेका छन् । इम्तियाजले ‘लभ आज कल’, ‘रकस्टार’, ‘जब वी मेट’, ‘जब ह्यारी मेट सेजल’, ‘तमाशा’, ‘हाईवे’ जस्ता फिल्मको निर्देशन गरिसकेका छन् ।

श्रीकृष्ण जन्माष्टमीको सार्वजनिक विदा पारेर आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र सेरोगेसीको कथामा आधारित भएर निर्माण भएको हो । चलचित्रमा सौगात र सृष्टिसँगै अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, बिद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा, बिट्रिनी कलाकार जमाइका टोम्ससहित झापाको चर्चित नाट्य समुह परिवर्तन थियटरका कलाकारको अभिनय रहेको छ ।

रञ्जित रौनियारले निर्देशन गर्ने चलचित्रलाई गोपीकृष्ण मुभिजले निर्माण गरेको हो । चलचित्रलाई काठमाडौंभित्र करणको कम्पनी जिजिए ग्रुप र मोफसलमा श्रीकृष्ण फिल्मस् र पाथिभरा फिल्मसले वितरण गर्दैछ । चलचित्रका प्रस्तुतकर्ता उद्धव पौडेल र निर्माता निरक पौडेल हुन् । चलचित्रमा राजुविक्रम थापाको छायाङ्कन, निर्देशक रन्जित रौनियारको कथा, शैलेश कंडेल क्षेत्रीको पटकथा तथा संवाद, शम्भुजित बाँस्कोटा र निलेश सिंहको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

Leave a Reply