‘प्रकाश’को विदेश राइट्स डेढ करोड बढीमा बिक्री

आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउने दिनेश राउत निर्देशित चलचित्र ‘प्रकाश’ नेपालसहित विदेशका विभिन्न आठ देशमा एकसाथ प्रदर्शन हुने भएको छ । महंगोमा विदेश राइट्स बिक्री गरेको निर्माण कम्पनी बिनिस इन्टरटेन्मेन्टले नेपालसहित भारत, अष्ट्रेलिया, न्युजिल्यान्ड, युरोप, जापान, अमेरिका, क्यानडा र मिडिल इष्टमा एकसाथ चलचित्र प्रदर्शनमा आउने जनाएको छ । आठ देशका लागि चलचित्रको राइट्स १ करोड ७२ लाखमा बिक्री भएको छ ।

टिजर र पोस्टरहरु सार्वजनिक भएसँगै चर्चामा रहेको चलचित्रमा चकलेटी अभिनेता प्रदीप खड्का पहिलो पटक फरक चरित्रमा प्रस्तुत भएका छन्। शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथामा बनेको चलचित्रमा मध्यम वर्गीय विभेदको कुरा पनि उठाइएको छ ।

जुम्लामा छायाँकन भएको चलचित्रले त्यहाँको परिवेशलाई टिपेको छ । बिकास सुबेदीको लेखन रहेको चलचित्रले जनयुद्धमा सहभागी बेपत्ता योद्धाको परिवारको कथा देखाएको बुझ्न सकिन्छ । चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारीको लगानी रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

Leave a Reply