‘प्रेम गीत ३’ को प्रचार-प्रसार सुरु

यस वर्षको बहुप्रतिक्षीत चलचित्र मध्ये एक ‘प्रेम गीत ३’ को आधिकारिक रुपमा प्रमोशनको काम सुरु भएको छ । निर्देशक तथा निर्माता सन्तोष सेनले पुरै टिम चलचित्रको प्रचार प्रसारमा होमिएको बताए । चलचित्रको शनिबार गोगंबुस्थित लोत्से मलमा चलचित्रका मुख्य कलाकारसहितको भव्य ब्यानर राखेर प्रचार सुरु गरेको हो । अब काठमाडौँ सहित नेपालभरका मुख्य शहरमा प्रचार प्रसार हुने निर्माता सेनले बताए । त्यसपछी मात्रै दर्शक भेटघाट, मिडिया प्रमोशन, सोसल साइट प्रमोशन लगायतमा ध्यान दिने निर्माता सेनको तयारी रहेको छ ।

हिन्दी र नेपाली भाषामा निर्माण भएको चलचित्र दशैँको अवसरमा घटस्थापनाको तीन दिन अगाडि अर्थात् असोज ७ गते प्रदर्शन हुने छ । दुई वर्षअघि चैत २८ लाई प्रदर्शन मिति तय गरेर प्रदर्शन हुन नपाएको चलचित्रलाई स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका हुन् ।

चलचित्रमा प्रदीप खड्का तेस्रो पटक ‘प्रेम’को रुपमा देखिँदैछन् भने नव-अभिनेत्री क्रिस्टिना गुरुङ ‘गीत’ र सन्तोष आफैँ ‘अंगत’को भूमिकामा पर्दामा देखिनेछन् । प्रदीप र क्रिस्टिनाका साथमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको पनि अभिनय हेर्न सकिनेछ ।

सन्तोष सेनको लगानीमा बन्न लागेको चलचित्रमा चत्र बहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्माताको रुपमा रहेका छन् । कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको चलचित्रमा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

Leave a Reply