चलचित्र ‘सेल्फी किङ’ को पहिलो गीतमा केकी र भिमफेदी गाइजको ठुम्का (भिडियोसहित)

आगामी माघ २४ गतेबाट नेपालभर प्रदर्शनमा आउन लागेको अभिनेता विपिन कार्की स्टारर चलचित्र ‘सेल्फी किङ’ को पहिलो लोक फ्लेवरको गीत सार्वजनिक भएको छ । ‘जाली रुमाल’ बोलको गीतमा अभिनेत्री केकी अधिकारी र चर्चित डान्स ग्रुप भिमफेदी गाइजको नृत्य छ । बि पाण्डेको शब्द र सुवास भुषालको संगीत रहेको गीतमा अञ्जु पन्त र पुरुषोत्तम प्रधानको स्वर छ ।

गीतको अडियो निकै बलियो छ । गीतको भिडियोमा केकीलाई नेपाली चलचित्रकी अभिनेत्रीको रुपमा नै चित्रण गरिएको छ, जो नृत्य प्रस्तुत गर्नका लागि सोलुखुम्बु पुगेकी हुन्छिन् । गीतको भिडियोको अन्तिममा चलचित्रका मुख्य कलाकार विपिन कार्कीलाई पनि देख्न सकिन्छ ।

ड्रामेडी जनरामा निर्माण भएको चलचित्रमा विपिनका अलवा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय छ भने अभिनेत्री केकी अधिकारीले बिशेष भुमिकामा अभिनय गरेकी छिन । चलचित्रमा विपिन र लक्ष्मी श्रीमान्-श्रीमतीको भूमिकामा छन् । सुभाष थापा र निर्देशक दिनेश राउतले निर्माण गरेको चलचित्रमा निर्देशक सापकोटाको लेखन छ । सुभाष र दिनेशले गत वर्षको चर्चित चलचित्र ‘प्रसाद’मा सहकार्य गरेका थिए ।

राजेश बिसुराल र प्रवल कोइराला सह-निर्माता रहेको चलचित्रमा सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द,अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी छ ।

Leave a Reply