‘ह्रस्व दीर्घ’मा साउथका ब्रह्मानन्दमको पारिश्रमिक १ करोड बढि

नीता फिल्मस् को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘ह्रस्व दीर्घ’ घोषणाको क्रमदेखि चर्चामा छ । अभिनेत्री नीता ढुङ्गानाले पहिलो पटक होम प्रोडक्सनबाट निर्माण गर्न लागेको चलचित्रमा नीतासँगै ज्योतिषी अभिनेता हरिहर अधिकारी मुख्य भुमिकामा रहनेछन् । नीता र हरिहर आफैमा ‘लभ कपल’ हुन् ।

यो जोडीले घोषणा गरेको चलचित्रमा भारतका चर्चित कलाकारहरु लगातार अनुबन्धको खबरले बजार गर्माइरहँदा हालै मात्रै चर्चीत दक्षिण भारतीय कलाकार ब्रहमानन्दम अनुबन्ध भएको खबर सार्वजनिक भएको छ । चन्द्र पन्तको निर्देशनमा बन्ने नेपाली चलचित्रमा ब्रहमानन्दम खेल्न राजी भएका हुन् । उनलाई सबै कलाकारको दाँजोमा सर्वाधिक महंगो पारिश्रमिकमा चलचित्रमा अनुबन्ध गराएको निर्माण टिमले बताएको छ । निर्देशक पन्तले उनिसँग सम्झौता गरेका छन् । उनलाई प्रतिदिन ८ लाख भारु (नेपाली १३ लाख आसपास) दिने गरी सम्झौता भएको जानकारी प्राप्त छ। उनले चलचित्रलाई ८-१० दिन समय दिनेछन् । जसबापत ब्रह्मानन्दमले १ करोडदेखि १ करोड ३० लाखसम्म पारिश्रमिक पाउनेछन् ।

कमिक अभिनयबाट चर्चित कलाकार ब्रहमानन्दम संसारकै सर्वाधिक धेरै चलचित्र खेल्ने (ठुलोपर्दामा देखिने) जीवित कलाकारको गिनिज वर्ल्ड रेकर्ड होल्डर हुन् । तामिल र तेलुगु भाषामा मध्य ८० को दशकदेखि बन्दै आएका प्रायः चलचित्रमा उनले लगातार आफ्नो जबरजस्त उपस्थिति देखाउँदै आएका छन् । उनले दक्षिण भारतका स्टार ट्याग पाएका प्रायः सबैजसो अभिनेतासँग काम गरिसकेका छन् । पछिल्लो समय उनि सर्वाधिक धेरै अल्लु अर्जुन स्टारर चलचित्रमा देखिँदै आएका थिए । ब्रहमानन्दम नेपाली दर्शकमाझ पनि भारतबाट सर्वाधिक लोकप्रिय कमेडी कलाकारमा पर्छन् ।

ब्रहमानन्दमले धेरै चलचित्र अभिनयको गिनिज रेकर्ड समेत कायम गरिसक्दा सन् १९९९ मा अमिताभ बच्चनसँग ‘सुर्यवंसम्’ गरेयता बलिउडका समेत कुनै फिल्ममा खेल्न तयार भएका छैनन् । पछिल्लो क्रममा भारतको मुलधारको चलचित्रलाई दक्षिण भारतीय चलचित्रले आच्छु आच्छु पार्दै आएका छन् । त्यसको प्रभाव नेपालमा पनि देखिँदा नीता फिल्मस् ले दक्षिण भारतीय कलाकारहरुमाथि आँखा लगाएको सहजै अनुमान लगाउन सकिन्छ । ब्रहमानन्दमको उपस्थितिले आफ्नो कास्टिङ लाइनअप मजबुद बनाएको नीताले बताइन् ।

यसअघि यो चलचित्रमा सुप्रसिद्ध भारतीय कलाकार (पुष्पाका ‘सिनुभाई’) सुनिल वर्मा, स्टार अभिनेता गजिनी भिलेन प्रदीपराज रावत, दक्षिण भारतका चर्चित कमेडी एक्टर ‘अली’समेत अनुबन्धित भइसकेका छन् । चलचित्रलाई बलिउड सिनेमाटोग्राफर कवीरलालले खिच्ने पक्का भइसकेको छ ।

नेपाल र भारतमा खिचिने ‘ह्रस्व दीर्घ’मा धनन्जय घलानी कास्टिङ डाइरेक्टर छन् । यो चलचित्रमा सरोज खनाल र सलोन बस्नेत पनि मुख्य कलाकार हुन् । चलचित्रको हाल स्कृप्ट लक भएसँगै प्रि-प्रोडक्सन काम चलिरहेको निर्देशक पन्तले बताए । दशैंपछाडि असोज महिनाबाट चलचित्र फ्लोरमा जाने बताइएको छ । यो चलचित्रलाई संसारकै ठुलो फिल्म सिटी ‘रामोजी स्टुडियो’मा छायांकन गरिने समेत निर्माण टिमले सार्वजनिक गरिसकेको छ ।

Leave a Reply