‘हेल्लो जिन्दगी’ले गान्तोकमा जित्यो क्रिटिक्स च्वाइस् अवार्ड

एभरेष्ट सूर्य बोहरा निर्देशित चलचित्र ‘हेल्लो जिन्दगी’ ले भारतको गान्तोकमा हालै सम्पन्न गान्तोक इन्टरनेशनल फिल्म फेस्टिभलमा क्रिटिक्स च्वाइस् अवार्ड जितेको छ । १६ औं संस्करणको फेस्टिभलमा ‘हेल्लो जिन्दगी’ सहित थुप्रै देशका चलचित्र प्रतिस्पर्धामा थिए । जसमध्ये ‘हेल्लो जिन्दगी’ ले न्यारेटिभ फिचर चलचित्र बिधा अन्तर्गत अवार्ड जितेको जानकारी निर्देशक बोहराले दिएका छन् ।

रोयल सोसाइटी अफ टेलिभिजन एण्ड मोशन पिक्चर्सको आयोजनामा सन् २०२१ देखि मासिक रुपमा हुदै आइरहेको फेस्टिवलमा आफ्नो चलचित्रले अवार्ड जित्दा खुशी लागेको प्रतिक्रिया युके निवासी अभिनेता तथा निर्माता बिक्रम डि जोशीको छ । ‘आफ्नो मिहीनेत, सोच र प्रस्तुतिले पुरस्कार पाउदा हर्षित छु,’ जोशी भन्छन्, ‘आगामी दिनमा अझ सुन्दर फिल्म अभिनय तथा निर्माण गर्न प्रोत्साहन मिलेको छ ।’

गत चैत्र १८ गते देशभर प्रदर्शन भएको चलचित्रमा बिक्रम डि जोशी, प्रियंका कार्की,दीपीका प्रसाईं,बिक्रान्त बस्नेत,विल्सन बिक्रम राई, सविता गुरुङ तथा निर्देशक बोहरा स्वयम् प्रमुख भूमिकामा छन् ।
युके तथा नेपालमा खिचिएको चलचित्रको निर्माता बिक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ छिन् । निर्देशक बोहराकै कथा,पटकथा रहेको चलचित्रमा सस्पेन्स प्रेमकथा प्रस्तुत गरिएको छ । महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्म स्वदेशपछि अब बिदेशमा प्रदर्शनको तयारीमा छ ।

Leave a Reply