कबड्डी ४ : सबैभन्दा धेरै कमाउने नेपाली चलचित्र

रामबाबु गुरुङ निर्देशित तथा निर्मित सुपरहिट चलचित्र ‘कबड्डी’ को चौथौ सिक्वेल चलचित्र ‘कबड्डी ४’ले सबैभन्दा धेरै कमाउने नेपाली चलचित्रको रेकर्ड बनाएको छ । मंगलवार सर्वाधिक कमाई गर्ने चलचित्र भन्दै निर्माण टिमले २० करोड लेखिएको एक पोस्टर सार्वजनिक गरेको छ ।

प्रदर्शनको दुई हप्तामा चलचित्रले १८ करोड ७८ लाख कमाएको जानकारी दिइएको थियो । तेस्रो हप्ताको सप्तान्हसम्म चलचित्रले २० करोडमाथि कमाई गरेको निर्माण पक्षले बताएको छ ।

नेपाली चलचित्रको इतिहासमा सर्वाधिक कमाउने चलचित्रको रेकर्ड ‘छक्का पञ्जा ३’को नाममा थियो । यो चलचित्रले बक्सअफिसमा २० करोड कमाएको थियो। अब २० करोडभन्दा बढी कमाउँदै ‘कबड्डी ४’ सर्वाधिक कमाई गर्ने पहिलो नेपाली चलचित्र बनेको छ । यो चलचित्र तेस्रो हप्तामा पनि हाउसफुलका साथ प्रदर्शन भइरहेको छ ।

रामबाबु गुरुङ निर्देशित चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, कमलमणी नेपाललगायतको अभिनय छ । चलचित्रको कथा रामबाबुले उपेन्द्र सुब्बासँग मिलेर लेखेका हुन् ।

Leave a Reply