‘कबड्डी ४’ को बुकिङ खुल्यो, पायो सर्वाधिक शो

रामबाबु गुरुङ निर्देशित तथा निर्मित सुपरहिट चलचित्र ‘कबड्डी’ को चौथौ सिक्वेल ‘कबड्डी ४’को अग्रिम बुकिङ खुल्ला गरिएको छ । यही शुक्रवारबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको सोमबार दिउँसोबाट मल्टीप्लेक्सहरुमा बुकिङ खोलिएको हो । दर्शकमाझ प्रतिक्षीत बनेको चलचित्रले मल्टिप्लेक्समा सर्वाधिक शो हात पारेको छ । मल्टीप्लेक्सहरुले एड्भान्स बुकिङमै चलचित्रलाई उल्लेख्य शो बाँडेका छन् ।

देशको सबैभन्दा ठूलो क्यूएफएक्स चेनले देशभरका ११ वटा स्टेशनमा चलचित्रलाई ८३ शो दिएको छ । वान सिनेमाज्, बिग मुभिज, एफक्यूब सिनेमाज् लगायतका मल्टीप्लेक्सहरुमा पनि चलचित्रले उल्लेख्य शो पाएको छ । भारत र नेपालबाहेकका विदेशी मुलुकबाट ‘कबड्डी ४’ले २ करोड रुपैयाँ नेट कलेक्सन गरिसकेको छ भने डिजिटल राइटबाट झण्डै एक करोड आर्जन गरेको छ । डिजिटल र ओभरसिज राइटबाटै चलचित्रले लगानी उठाइसकेको छ ।

दयाहाङ राई, सौगात मल्ल र मिरुना मगरको मुख्य भूमिका रहेको यो चलचित्रलाई सोमबार चलचित्र जाँच समितिले यू प्रमाणपत्र दिएको छ । मणिराम पोखरेल निर्माता रहेको यो चलचित्रमा दयाहाङ, सौगात र मिरुना सँगै विजय बराल, बुद्दि तामाङ, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले,माओत्से गुरुङ, सारदा अधिकारी, जयनन्द लामा लगायतका कलाकारको अभिनय रहनेछ । गौमायाले यही चलचित्रबाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् । यसपटक चलचित्रमा ‘मैयाँ’ को भूमिकामा मिरुना मगर देखिनेछिन् ।

‘द फाइनल म्याच’ उप-शिर्षक राखिएको चलचित्रलाई ‘कबड्डी’ को अन्तिम भाग भनिएको छ । ‘कबड्डी’ को पहिलो पार्टमा दयाहाङ राई, निश्चल बस्नेत र रेश्मा गुरुङ मुख्य भूमिकामा थिए । दोस्रो पार्टमा निश्चलको ठाउँमा सौगात मल्ल भित्रिए । तेस्रो पार्टमा विल्सन विक्रम राई, कर्मा र उपासना सिंह ठकुरी जोडिएका थिए । अब फाइनल म्याचमा ‘कबड्डी’ को कथामा जोडिएका सबै प्रमुख पात्रहरु दोहोरिने निर्माण टिमले बताएको छ ।

Leave a Reply