आजबाट प्रदर्शनमा आयो ‘लक्का जवान’ र ‘षट्कोण’

आज शुक्रबारबाट दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । शिवहरि पौड्याल निर्देशित कमेडी जनराको ‘लक्का जवान’ र कर्माको मुख्य भूमिका रहेको साइकोलजिकल थ्रिलर ‘षट्कोण’ आजबाट देशभरका हलमा प्रदर्शन भएका हुन्। सिंगल थिएटर राम्रो शो पाएका यी दुई नेपाली चलचित्रले शुक्रवारबाटै प्रदर्शनमा आएको हलिउड चलचित्र ‘डक्टर स्ट्रेन्ज-२’का कारण मल्टीप्लेक्समा भने शो पाउन सकेका छैनन् ।

मिलन डि काप्रि निर्देशित चलचित्र ‘षट्कोण’मा अभिनेता कर्मा शाक्यको मुख्य भूमिका रहेको छ । मनोवैज्ञानिक थ्रिलर जनरामा निर्माण भएको चलचित्रमा कर्माले एक आपराधिक घटनाको रिपोर्टिङमा लागेका पत्रकारको भूमिका निर्वाह गरेका छन् । चलचित्रमा कर्माका अलवा भोलाराज सापकोटाका लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् ।

कलाकार शिवहरी पौडेलको डेब्यू निर्देशित चलचित्र ‘लक्का जवान’ मा किरण केसी, सरोज खनाल, सुशील पोखरेल, शिवहरी पौडेल, दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, सुरेन्द्र केसी, जयनन्द लामा, अन्सुया श्रेष्ठ, अन्जु महर्जन, नरेन्द्र कंशाकार, देशभक्त खनाल लगायतको अभिनय छ । चलचित्रमा बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ अथिती भूमिकामा छन् । चलचित्रको कथा, पटकथा तथा संवाद शिवहरी स्वयंको हो । ‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’ को ब्यानरमा बनेको ‘लक्का जवान’ ले केही पाका उमेरका मानिसहरुको कथा भन्ने बताइएको छ ।

Leave a Reply