नेपाली सिनेमा क्षेत्रमा मनपरीतन्त्र आएकै हो त ?

जब देशभन्दा माथी नेता नेतृत्व हुन्छ, जब कानुन भन्दा माथी व्यक्ती या संस्था हावी हुन्छ, त्यहाँ मनपरीतन्त्र आउँछ । यतिबेला नेपाली सिने जगतमा पनि मनपरीतन्त्र आएको छ । नाम नबताउने शर्तमा एक फिल्मका शुभचिन्तकले कोरीबाटीसँग भने, “यहि अवस्था रहे देशको कला संस्कृतिलाई उजागर गर्ने माध्यम सिनेमा नेपालबाट बिलिन हुन्छ ।” उनले अझै आक्रोशित हुँदै भने, “म नेपाली फिल्मलाई गाली गर्छु, गलत बाटोमा हिड्यो भन्छु । त्यसैले म यतिबेला नेपाली फिल्म क्षेत्रका लागि खलनायक भएको छु । आफ्नो मनमा लागेका कुरा पनि नाम लुकाएर भन्न बाध्य छु ।”

निर्देशक मनोज पण्डितको धारणा पनि उस्तै छ । नेपालमा चलचित्र प्रर्दशन, वितरणसम्बन्धी कानुन छ तर कार्यन्वयन नहुनु दुःखको कुरा हो । उनले भने, “हरेक मानिसलाई लौरी लगाएर कानुन पालना गर् भन्ने हैन, यो त आफैले बुझ्नुपर्ने कुरा हो । हामी लौरी लगाउनुपर्ने मानसिकताका भएकाले आजको यो अवस्था आएको छ ।”

दक्षिण भारतिय फिल्म केजीएफ च्याप्टर २ ले नेपालमा आक्रामक ब्यापार गर्यो। सम्भवत: फिल्मको सो थप गर्दै आधारातमा समेत हलमा बसेर पहिलोपटक फिल्म हेरे नेपालीले । कहिले हलमा दर्शक गएनन् भनेर चिन्ता त कहिले दर्शक आधा रातमा पनि हल गए भनेर चिन्ता । निर्देशक पण्डित यतिबेला केहि गरे पनि नेपालका फिल्मकर्मीलाई खुशी पार्न नसकिने बताउँछन् ।

उनको विचारमा दर्शक हल जानु खुशीको कुरा हो । “नेपालीहरु सिनेमाप्रेमी रहेछन्, गतिलो फिल्म बनाए निन्द्रा समेत त्यागेर हल पुग्दारहेछन् । अरु देशले नेपालमा सिनेमा क्रेजी दर्शक भेटिसकेका छन् । तर उनीहरुलाई टार्गेट गरेर नेपाल आफैले भने फिल्म बनाउन चुकेको छ ।”

उनले भने, “नेपालको कानुन अनुसार तोकिएको समय भन्दा अन्य समयमा बिना इजाजत हल खोलेर फिल्म देखाउनु गैरकानुनी कार्य हो । तर यदि चाखलाग्दो सिनेमा बनाए नेपाली वितरक र दर्शक कानुन मिचेर समेत फिल्मलाई माया गर्दा रहेछन्, यो सकारात्मक पाटो हो ।” अबको बहस नेपाली फिल्मले त्यस्तो अवस्था सिर्जना गर्न के गर्नुपर्ला भन्ने ल्याउनुपर्ने पण्डित बताउँछन् ।

पण्डितकै कुरामा सहमती जनाउँछन्, नेपाली फिल्मीक्षेत्रलाई नजिकबाट नियाल्ने कुमार बेन । उनले भने, “हामी काठमाडौंलाई २४ सै घण्टा चलाएमान बनाउने कुरा गरिरहेका छौँ । यस्तो अवस्थामा रातभर हल चल्नु सुखद कुरा हो ।” बेन भन्छन्, “तर वितरकले बोर्ड या मन्त्रालयको इजाजत भने लिनुपर्थ्यो । कानुन भन्दा माथी कोहि नहुनु पर्थ्यो ।”

के भन्छ कानुन

चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली २०५७ नेपालीको परिमार्जित छैठौं संस्करण यतिबेला लागू भइरहेको छ । यो नियमावली २०५८, २०६०, २०६४, २०६६, २०६९ र २०७७ सालमा परिमार्जन भएका छन् । चलचित्र ऐन २०२६ को दफा २६ ले दिएको अधिकार प्रयोग गरेर यो नियमावली बनेको हो ।

नियमावलीमा अहिले बहसमा आएका प्रायः कुरालाई संवोधन गरेको छ । उदाहरणका लागि: स्वदेशी र बिदेशी चलचित्र एकै दिन प्रर्दर्शन गर्न नपाइने । अनुसुचि ७ मा ‘च ५’ मा लेखिएको छ, ‘प्रदर्शकले एकै दिनमा स्वदेशी र बिदेशी चलचित्र प्रर्दशन गर्न नपाउने । यो नियम २०६५ माघ २० गतेको नेपाल राजपत्रमा प्रकाशित सुचनाबाट थप गरिएको उल्लेख छ ।

त्यस्तै, यसैको नियमावलीको १९ नम्बर बुँदामा चलचित्र प्रर्दशन गर्ने समयबारे उल्लेख छ । जसमा प्रर्दशकले नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले तोकिदिएको समयमा मात्र चलचित्र प्रर्दशन गर्नुपर्नेछ भनिएको छ । यहि बुँदा अनुसुचि ७ को ‘झ’ मा पनि दोहोर्याइएको छ । जसमा लेखिएको छ, मन्त्रालय या चलचित्र बिकास बोर्डले चलचित्र प्रर्दशन सम्बन्धमा दिएको निर्देशनको पालना गर्ने भनिएको छ । मन्त्रालय र बोर्ड दुवैले रात्रीकालिन र थप सोका लागि इजाजत नदिएको बताएका छन् ।

नेपाली फिल्मको अस्तित्व धरापमा

नेपाली फिल्म क्षेत्रमा सक्रिय मानिसहरु यतिबेला रातमा समेत बिदेशी फिल्मलाई सो टाइम दिएको भन्दै सामाजिक सञ्जालमा कराइरहेका छन् । नेपाली फिल्मलाई दर्शकले माया गर्दागर्दै पनि सो टाइम झनै घटाएको घटना पनि सार्वजनिक भएको छ । लामो समयपछि नेपाली फिल्म क्षेत्रमा सबैको आकर्षण हल बनेको हो । ब्ल्याकमा टिकट बेच्नेदेखि एउटा फिल्मको नाम दिएर अर्कैको टिकट काट्नेसम्मको धोका भएको हप्ता नेपाली फिल्मका हलहरुमा देखिए ।

यो घटनाले नेपाली फिल्मप्रतिको सोच भने झनै खराब बनेको छ । नेपाली फिल्म पनि कोहि पैसा तिरेर हेर्छ, हलमा गएर हेर्छ भन्ने जस्ता कुरामा यी र यस्ता घटनाहरुले झनै बढवा दिए झैं देखिन्छ । हलमा चलिरहेको ए मेरो हजुर ४ लाई दर्शकले माया गरिरहेका छन् । तर समिक्षा भने खराब छ । पुरानै घिसेपिटे प्रेमकथालाई पुरानै तरिकाले प्रस्तुत गरिएको छ । दर्शक घरबाटै यो फिल्ममा हिरो मर्छ कि हिरोइन मर्छ भनेर बाजी थापेर हल छिरेको देख्न सकिन्छ ।

साउथ इण्डियन फिल्मदेखि बलिउड समेत डराइरहेका बेला नेपाली फिल्मले देखाएको हिम्मतलाई राम्रो मान्न सकिन्छ । यसले नेपाली भनेर माया गर्ने दर्शकलाई फिल्म हेर्ने मौका दिएको समिक्षकहरुको भनाइ छ ।

Leave a Reply