‘हेल्लो जिन्दगी’ पछि नयाँ चलचित्रको तयारीमा निर्देशक एभरेष्ट र अभिनेता बिक्रम

एभरेष्ट सूर्य बोहरा निर्देशित चलचित्र ‘हेल्लो जिन्दगी’ शुक्रबारदेखि दोश्रो सातामा प्रवेश गरेको छ । चैत्र १८ गते प्रदर्शन भएको चलचित्रले विदेशी चलचित्रका कारण मल्टिप्लेक्समा उल्लेख्य शो नपाए तापनि सिंगल थिएटरमा भने दर्शकको साथ पाइरहेको छ ।

चलचित्र दोश्रो सातामा प्रदर्शन भइराख्दा ‘हेल्लो जिन्दगी’ का अभिनेता बिक्रम डि जोशीको अभिनयले पनि तारिफ पाइरहेको छ । यसअघि ‘ह्याप्पी डेज’ र ‘पासवर्ड’ मा अभिनय गरेका जोशी ‘हेल्लो जिन्दगी’ मा प्रमुख भूमिकामा छन् । सत्य घटनाहरुबाट प्रभावीत कथामा चलचित्र निर्माण गरिएको र अभिनेता जोशीले सो भूमिकामा न्याय गरेको चलचित्र हेरेका दर्शकको प्रतिक्रिया छ ।

चलचित्रमा बिक्रम संघर्ष गरेर स्थापीत भएको बिजय नामक नामुद होटल ब्याबसायीको भूमिकामा छन् । विजयको जीवनमा जस्मिन (दीपीका प्रसाई) को प्रबेशले आउने अकल्पनीय आरोहअबरोह प्रस्तुत गरिएको छ । युके,मुस्ताङ,पोखरा र काठमाडौमा खिचिएको चलचित्रलाई कतिपय दर्शकले आफ्नो जीवनसँग मेल खाएको बताउने गरेका छन् ।

केही दिनअघि आयोजित चलचित्रको विशेष शोमा बरिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठले ‘हेल्लो जिन्दगी’ आफूलाई निकै मन परेको बताएका थिए । ‘मैले एक झिमिक पनि नपारि फिल्म हेरें,’ उनको प्रतिक्रिया थियो,‘फिल्म सरर बगेको छ । अल्झनै कुनै ठाउँ छैन । फिल्मले मनोरञ्जन त दिन्छ नै, त्यसको साथै उपयोगी सन्देश पनि छ । त्यसैले देशबिदेशमा बस्ने जतिले यो फिल्म हेर्नुपर्छ ।’ सोही कार्यक्रममा अर्का हाँस्य अभिनेता रबिन्द्र झा,यमन श्रेष्ठ,डा. समीरमणि दीक्षितलगायतले पनि फिल्म मन परेको बताएका थिए ।

अभिनेता बिक्रम र निर्देशक एभरेष्टको कथा रहेको चलचित्रमा बिक्रमका साथमा दीपीका, प्रियंका कार्की,विल्सन बिक्रम राई,बिक्रान्त बस्नेत,सविता गुरुङ,निर्देशक बोहरा स्वयम्लगायतले अभिनय गरेका छन् । हिराल जोशी र बिक्रम जोशी निर्माता, सृजना जोशी कार्यकारी निर्माता र सबिता गुरुङ सहनिर्माता रहेको चलचित्रलाई बिरञ्जना इन्टरटेन्मेन्टले निर्माण गरेको हो । यसअघि ‘अग्नी परिक्षा’,‘कान्छा’,‘मुटु’, ‘ठूली’, ‘भैरे’ र ‘श्री’ फिल्म निर्देशन गरेको बोहराले यो फिल्मबाट निर्देशन मात्र होइन, कथा,पटकथा लेखन र गीत रचनामा पनि तारिफ पाइरहेका छन् । यसअघि उनले ‘ठूली’ चलचित्रमा लेखेको शीर्ष गीत ‘म त मर्छु कि क्या हो ठूली’ सुपरहिट भएको थियो भने अहिले यो फिल्ममा उनकै शब्द रहेको ‘कता कता’ र ‘अनौठो माया’ बोलका गीत स्रोता दर्शकले मन पराइरहेका छन् ।

‘हेल्लो जिन्दगी’ प्रदर्शनसँगै यही टिमले छिट्टै नै नयाँ चलचित्र निर्माणको तयारी गरेको छ । केही दिनमै चलचित्रको औपचारिक घोषणा गरिने निर्देशक बोहराले जानकारी दिएका छन् । बिरञ्जना इन्टरटेन्मेन्टको ब्यानर र महारानी इन्टरटेन्मेन्ट युकेको सहकार्यमा निर्माण हुने चलचित्रको निर्देशन पनि बोहराले नै गर्ने छन् ।

Leave a Reply