‘चिसो एष्ट्रे’लाई प्रिमियरमा सेलिब्रेटी प्रतिक्रिया : ‘चलचित्र हलिउडको जस्तो’

चलचित्र ‘चिसो एष्ट्रे’ लाई सेलिब्रेटीले हलिउड चलचित्र जस्तो लागेको प्रतिक्रिया दिएका छन् । मंगलबार साँझ सिभिल मलको क्युएफएक्स सिनेमामा भएको प्रिमियरमा चलचित्र हेरेपछि प्रतिक्रिया दिँदै सेलिब्रेटीले चलचित्रको कथावाचन र दृश्यभाषा हलिउडस्तरको भएको प्रतिक्रिया दिएका छन् ।

प्रिमियरमा उपस्थिति वरिष्ठ कलाकार सन्तोष पन्तले चलचित्र हेरेपछि प्रतिक्रिया दिँदै चलचित्र हेरिरहँदा आफूलाई नेपाली हैन हलिउड चलचित्र हेरिरहेको भान भएको प्रतिक्रिया दिएका थिए । ‘हलिउड जस्तो ’ चलचित्र कस्तो लाग्यो भन्ने प्रश्नमा सन्तोष पन्तको जवाफमा उनले युवा पुस्तालाई केन्द्रमा राखेर बनाएको चलचित्र क्वाँटी जस्तै सबै कुराको मात्रामिलेको र आफूलाई असाध्यै राम्रो लागेको बताएका थिए।

निर्देशक प्रदीप भट्टराईले पनि सन्तोष पन्तको झैं चलचित्रलाई हलिउडस्तरको मानेको प्रतिक्रिया दिएका थिए । उनले नेपाली सिनेमा हलिउड जस्ता किन बन्दैनन् भन्ने दर्शकका लागि चिसो एष्ट्रे जवाफ भएको बताएका थिए ।‘सिधा भाषामा भन्दा यो हलिउड स्टाइलको चलचित्र हो । लुटपछि यसको शैली ब्रेक गर्ने जुन चलचित्रको हामी खोजी गरिरहेका थियौँ त्यो यही चलचित्र हो,’ उनले थपे, ‘चलचित्रको दृश्यभाषामा यो ठूलो फड्को हो ।’

निर्देशक निश्चल बस्नेतले भने निर्देशक दिन्स पाल्पालीको प्रशंसा गर्दै यो चलचित्रको सोचाइ र सोचाइलाई पर्दामा उतार्न निर्देशकले गरेको मेहनत प्रशंसनीय रहेको धारणा राखेका थिए । उनले पनि चलचित्रको अभिनयदेखि कस्ट्युमको छनौटसम्मको तारिफ गर्दै दृश्यभाषामा भने चलचित्र निकै नै अब्बल रहेको बताएका थिए ।

अभिनेता राजेश हमालले अब्स्ट्रयाक्ट चलचित्र आफ्नो रोजाइमा रहने गरेको बताउँदै चलचित्रले काठमाडौँ खोल्डोलाई दृश्यको माध्यमबाट हेरेको बताए । ‘पहिलो कुरा त यो मेरो स्वादमा पर्यो । ग्रिपिङ छ । कलाकारको काम एकदमै राम्रो छ । मलाई मनपर्यो ।’

साहित्यकार कुमार नगरकोटीले पनि यत्तिको सशक्त नेपाली चलचित्र आफूले पछिल्लो समय नहेरेको बताउँदै यसको संवाद, विम्बआदि प्रभावशाली रहेको बताए । ‘म परम्परागत कथा वाचनमा विश्वास गर्दिन । यो चलचित्रले पनि गरेको छैन । मलाई त सबैभन्दा बढी यही हिम्मत नै मनपर्यो । बाँकी कुरा पनि राम्रो छ,’उनको प्रतिक्रिया थियो । अभिनेता खगेन्द्र लामिछानेले पनि आफूले हेर्ने र गर्ने भन्दा चलचित्र पृथक रहेको बताएका थिए । उनले पनि कथा भन्ने शैली फरक रहेको प्रतिक्रिया दिएका थिए ।

मंगलबार प्रिमियरमा उपस्थित अधिकांशले चलचित्र कथा वाचन गर्ने शैली, कलाकारको अभिनय र छायांकनको मुक्तकण्ठले प्रशंसा गरेका थिए । प्रिमियरमा सेलिब्रेटीको प्रतिक्रियाले सन्तुष्ट देखिएका चलचित्रका निर्माता महेशबाबु तिमिल्सिनाले धेरै वर्षको मेहनत सार्थक भएको महसुस गरिरहेको बताएका थिए । ‘हामीले अलि फरक शैलीको चलचित्र बनाउने प्रयास गरेका थियौँ । चलचित्र फ्रटिनिटीबाट स्याबास पायौँ । अब दर्शकको प्रतीक्षा छ’ उनको भनाइ थियो ।

कविभूपी शेरचनको ‘चिसो एष्ट्रे’ शीर्षककै कविताको भावलाई कथानक स्वरुप दिई निर्माण गरेको चलचित्र दिन्स पाल्पालीको निर्देशनमा जीवन्त बनेको हो । चलचित्रलाई उज्जवल बस्ताकोटीले खिचेका हुन् । अजर जंगमको संगीत रहेको चलचित्रमा दिव्य देव, सुशील पाण्डे सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नबिन लम्साल र रविन तामाङको मुख्य भूमिका रहेको छ ।

प्रिमियरअघि भूपीपत्नीकान्ति शेरचनलाई दोसल्ला ओडाइ सम्मान गरिएको थियो । उनले भूपीको कविताको भावलाई लिएर चलचित्र बन्नु नै सुन्दर पक्ष रहेको बताएकी थिइन् । समग्रमा पनि उनले आफूलाई चलचित्र मन परेको प्रतिक्रिया दिएकी थिइन् ।

कंगारु क्रिएसन, लोकलसिनेमा र क्रिएटिभ नेपाल फिल्मस् संयुक्त प्रयासमा महेशबाबु निर्मित चलचित्रलाई प्रबिङ स्याङ्बो र सुष्मिता पराजुलीले निर्माणमा सघाएका छन् । चलचित्र निर्माणमा उत्पलझा, रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडाको पनि सहकार्य रहेको छ ।

Leave a Reply