चोरीको आरोपपछि युट्युबबाट हटाइयो मेलिना र किरणको ‘हे दैव’ गीत

गत सोमबार युट्युबमा सार्वजनिक गरिएको मेलिना राई र किरण गजमेरको स्वर रहेको ‘हे दैव’बोलको गीत चोरीको आरोप लागेपछि ​युट्युबबाट हटाइएको छ । गीतकार भूपेन्द्र खड्काले चोरीको आरोप लगाएपछि यो गीत बुधबार युट्युबबाट हटाइएको हो । खड्काले गीतको शुरुको हरफ नै आफ्नो रचना रहेको गीत ‘भेटिएर छुट्नुभन्दा’बाट हुबहु चोरिएको बताएका छन् ।

रमेश एमके पौडेलको शब्द र सुवास भुसालको संगीत रहेको गीत सार्वजनिक भएसँगै चोरीको आरोप लागेको हो । सलोन बस्नेत र रुबिना थापाले अभिनय रहेको गीतको भिडियोलाई रमेश एमके पौडेलको निर्माण र रामजी लामिछानेको निर्देशनमा गरेका थिए ।

यो गीत २०६१ सालमा रेकर्ड भएर २०६२ सालमा सार्वजनिक भएको गायक एवं संगीतकार कर्णदासको एल्बम ‘आधा सपना’मा समावेश गीत हो । गीतमा कर्णदासको संगीत तथा स्वर रहेको छ ।

चोरीको आरोप लगाउँदा खड्काले सामाजिक संजालमा लेखेका थिए: स्मरण रहोस्, नेपालको प्रतिलिपि अधिकारका क्षेत्रमा स्रस्टाको बौद्धिक अधिकारको संरक्षणमा काम गर्ने संस्था ‘सङ्गीत रोयल्टी संकलन समाज नेपाल’मा ४ वर्ष महासचिव भएर मैले पनि २००९-२०१३ सम्म काम गर्ने मौका पाएको थिएँ । त्यही अवसरमा युरोपका ११ मुलुक र अफ्रीकाका विभिन्न देशमा २००९ मा भ्रमण गर्ने र बौद्धिक अधिकारको अभ्यासका बारेमा जानकारी लिने सौभाग्य पनि मैले प्राप्त गरेको थिएँ । त्यसैले म भन्छु, कसैले पनि कसैका गीत जानीजानी नचोरौं, अन्जानमा कतै मिल्न गए गल्ती सुधारौँ ।
मेरो गीत कसैले चोर्नु भनेको मेरो नामको घर-जग्ग्गा मलाई थाहै नदिई कसैले आफ्नो नाममा पास गर्नु जस्तै हो । चेतना भया !!

र अब गीत युट्युबबाट हटाइएपछि उनी लेख्छन् :”सबैले कानूनी कारबाहीमा जानुपर्छ भने पनि ‘गीत हटाउँछु’ भनेपछि अलि शान्त भएँ । ती चोर गीतकार सम्पर्कमा आएका छैनन् । एकपटक कुरा गर्न मन छ । मध्यस्थकर्तालाई सम्पर्क गराइदिन आग्रह गर्दछु । ”

Leave a Reply