प्रभासले ‘आदिपुरुष’का लागि लिए १५० करोड पारिश्रमिक

‘बाहुबली र बाहुबली २’ को सफलतापछि साउथ इन्टष्ट्रिका सुपरस्टार प्रभासले चलचित्र ‘आदिपुरुष’मा लिएको पारिश्रमिकको अहिले चर्चा भइरहेको छ । अब भने प्रभास भारतका सबैभन्दा महँगा अभिनेता बनेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार ओम राउतको निर्देशन रहेको ‘आदिपुरुष’ को लागि प्रभासले भारु १५० करोड लिएका हुन् । सलमान खान र अक्षय कुमार पछि पछिल्लो १० वर्षमा यति धेरै पारिश्रमिक लिने प्रभास तेस्रो अभिनेता हुन् ।

चलचित्रमा प्रभास पौराणिक पुरुष रामको चरित्र निर्वाह गर्दैछन्। यो चलचित्र हिन्दी, तेलुगू, तमिल, मलयालम, कन्नडलगायतको भाषामा प्रदर्शनमा आउनेछ। आदिपुरुष भारतीय महाकाव्यको रूपान्तरण हो। जुन खराबमाथि असलको जितको घटनाक्रममा केन्द्रीत छ। हिन्दू पौराणिक कथाअनुसार भगवान रामलाई आदिपुरूष भनेर सम्बोधन गरिन्छ।

यो चलचित्रमा पहिलोपटक प्रभास, अजय देवगन र सैफ अली खानले स्क्रिन शेयर गर्दैछन् । ‘आदिपुरुष’लाई बलिउड मिडियाले वर्षकै बहुप्रतिक्षित चलचित्र भनेका छन् । चलचित्रलाई ओम राउत, भुषण कुमार, कृष्ण कुमार, राजेश नायर र प्रकाश सुतारले निर्माण गर्दैछन् ।

Leave a Reply