मिलन चाम्सले गोलकिपर एन्जिलाको जीवनीमा चलचित्र बनाउँदै

निर्देशक मिलन चाम्सले राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा चलचित्र बनाउने भएका छन् । चलचित्रमा एन्जिलाको पूर्वाञ्चल क्षेत्रीय टोलीको गोलरक्षकदेखि राष्ट्रिय फुटबल टोलीको गोलकिपरसम्मको यात्रालाई देखाइनेछ ।

चलचित्रमा अभिनय गर्ने मुख्य कलाकारहरुबारे भने केहि बताईएको छैन । यो चलचित्रमा एन्जिलाले पनि अभिनय गर्न सक्ने प्रवल सम्भावना रहेको बुझिएको छ । यम थापाले चलचित्रको स्क्रिप्ट लेखिरहेका छन् । प्रेम कुमार श्रेष्ठको निर्माण रहने चलचित्रको वर्किङ टाइटल ‘एन्जिला’ राखिएको छ । चलचित्रको छायांकन अर्को वर्ष हुन सक्नेछ ।

२०५३ मा पाँचथर जिल्लाको फाक्तेपमा जन्मिएकी एन्जिलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी थिइन् । सन् २०१४ मा श्रीलंकामा सम्पन्न एएफसी यु–१४ गल्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी उनी २०१४ बाट राष्ट्रिय टिममा परेकी थिइन् । तर, उनी २ वर्ष बेञ्चमै सीमित भइन् । त्यसयता भने उनी नेपाली फुटबल टोलीको भरपर्दो गोलरक्षक बनेकी छन् ।

Leave a Reply