‘कठपुतली’को डरलाग्दो मोशन पोस्टर सार्वजनिक

हरर चलचित्र ‘कठपुतली’ को मोशन पोस्टर सार्वजनिक भएको छ । ‘हलोविन’ को अवसर पारेर मंगलवार निर्माण टिमले मोशन पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा प्रयोग गरिएको ब्याकग्राउन्ड स्कोर थ्रिलले भरिएको छ । पृष्ठभुमिमा एक महिलाको चर्को र डरलाग्दो आवाज पनि सुन्न सकिन्छ ।

चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ । निर्माण टिमले चलचित्रको प्रदर्शन मिति भने सार्वजनिक गरेको छैन । अवस्था सामान्य बन्दै गएकाले पुस–माघसम्म चलचित्रलाई नेपालमा रिलिज गरिने तयारी गरिएको निर्माता मगरले बताए ।

चलचित्रका निर्देशक भिमसेन लामाले यो सफलताको लागि आफूलाई विश्वास गर्ने चलचित्रको सम्पूर्ण टिम जिम्मेवार रहेको बताए । गत महिना मात्र अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा महत्त्वपूर्ण अवार्ड जितेको यो चलचित्रमा सम्पदा मल्लको कथा, पटकथा र संवाद रहेको छ ।

सेप्टेम्बर २३ देखि अक्टोबर २ सम्म चलेको फेस्टिभलमा चलचित्रले ‘बेस्ट हरर फिचर फिल्म’ र ‘इन्डी पिक्स अवार्ड’ जितेको हो । फेस्टिभलमा यो चलचित्र ‘विन्टर फियर अवार्ड हरर फिल्म कम्पिटिसन’ विधामा छनोट भएको थियो ।

हरर विधातर्फ उत्कृष्ट बनेको यो चलचित्रले जितेको ‘इन्डी पिक्स अवार्ड’ अमेरिकाको ओटीटी प्लेटफर्ममा आधारित छ । यो अवार्ड जित्नु भनेको ‘इन्डी पिक्स’ नामक प्रतिष्ठित ओटीटी प्लेटफर्मले रिलिजको अफर गर्नु हो । उक्त फेस्टिभलमा चारवटा चलचित्रले मात्र यो अवार्ड जित्न सफल भए । विन्टर फिल्म फेस्टिभलमा यो चलचित्रले ‘हरर विधा’ मा हलिउड फिल्मसँग प्रतिस्पर्धा गरेको थियो ।

चलचित्रको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको ‘कठपुतली’ अन्य हरर चलचित्रभन्दा भिन्न रहेको निर्देशक लामाले बताएका छन् । उनी यो चलचित्र आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताउँछन् । पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनको स्टूडियोमा भएको यो चलचित्र ‘हर्टल्यान्ड इन्टरनेसनल फिल्म फेस्टिभल’ मा पनि छानिएको छ ।

Leave a Reply