‘महानायक’ विवादमा वर्षा लेख्छिन्-‘वरिष्ठ कलाकारहरुको आ–आफ्नै चाहना यसरी छताछुल्ल भएको हेर्ने मन पटक्कै होइन’

नायक राजेश हमाललाई दिइएको ‘महानायक’ उपाधिमा पटक पटक विवाद भएको पाइन्छ । अहिले चलचित्र क्षेत्रमा महानायक विवाद पुनः सुरु भएको छ । यसै साता मात्र राजधानीमा आयोजित डाँडाको बरपीपल चलचित्रको गीत रिलिज कार्यक्रममा नायक भुवन केसी र शिव श्रेष्ठले नायिका गौरी मल्ललाई ‘महानायिका’को उपाधि दिएपछि यस विषयमा फेरी चर्चा भएको हो ।

यो विषयलाई लिएर सामाजिक संजालमा चलचित्रकर्मी देखि आम जनता सबै आफ्नो तर्क वितर्क ओर्लिएका छन् । यसैक्रममा हालै नायिका वर्षा सिवाकोटीले पनि महानायक विवादमा आफ्नो मुख खोलेकी छिन् । वर्षाले बुधबार फेसबुकमा एक स्टाटस लेखेर चलचित्र क्षेत्र चलायमान बनाउनका लागि हुनुपर्ने बहस अन्यत्र मोडिएको भन्दै दुःख व्यक्त गरेकी छन् । उनले वरिष्ठ कलाकारको दर्जा पाएका व्यक्तित्वहरूको आ–आफ्नै चाहना यसरी छताछुल्ल पार्नु राम्रो नभएको बताएकी छन् ।

उनले लेखेकी छिन्,‘ कलाकार त्यसमाथि वरिष्ठ कलाकारको दर्जा पाइसक्नुभएका आदरणीय अग्रज व्यक्तित्वहरूको आ–आफ्नै चाहना यसरी छताछुल्ल भएको हेर्ने मन पटक्कै होइन । ’ स्टाटसमा आफ्नो विचार पनि राख्दै वर्षाले सुरुवातमा चलचित्र क्षेत्र सहज हुनुपर्ने, र जसरी पुराना दिनहरूमा हरेक साता नयाँ चलचित्र रिलिज हुने र दर्शक हलसम्म पुग्ने वातावरण थियो, ती दिनहरू फर्किएर आउन भनेर कामना गर्नुपर्ने बताईन् ।

वर्षा अगाडी लेख्छिन्, हाम्रो काम दर्शकले मुल्याकंन गर्ने वातावरण बन्नु चाहिँ सुहाउँदिलो कुरा हो । कोही कसैले स्वमुल्याकंन गर्ने होइन । हामी सबै चलचित्रकर्मीले त्यही मान्यतामा आफ्नो काम नियमित गर्नुपर्छ । यस कुरामा अग्रजहरूले विशेष ध्यान दिएर त्यसअनुरूपको वातावरण बनाउन सहयोग गरेको हेर्ने चाहना हो । तर पछिल्ला दिनमा सम्माननीय अग्रजहरूको चाहना अर्कै देखियो । ​ठिकै छ, जे भए पनि हामी चाहिँ उहाँहरूलाई सबैलाई सधैँ सम्मान गर्छौँ । धन्यवाद ।

महानायकको चर्चाबीच नायक राजेश हमालले पनि बुधबार फेसबुकमार्फत लेखेका छन् : कर्म सहि गर, फल प्राप्त हुनेछ ।’ महानायक विवादले चलचित्र क्षेत्र तातेको माहोललाई हेर्ने हो भने राजेश हमालको यो स्टेटस सोही विवादलाई लिएर लक्षित देखिन्छ ।

Leave a Reply