‘द भ्वाइस किड्स’को कोचमा प्रमोद, प्रविशासंगै राजु र मिलन

‘द भ्वाइस अफ नेपाल’को अब किड्स संस्करण सुरु हुने भएको छ । हिमालय टीभी एचडीले बालबालिकाहरुका लागि गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ प्रशारण गर्ने भएको छ ।

बालबालिकाहरुको गायन प्रतिभालाई उजागर गर्ने उद्देश्यले संचालन गर्न लागिएको यो शोमा ६ देखि १४ बर्षका बालबालिकाहरुले सहभागीता जनाउन पाउनेछन् । बालबालिकाहरुको अडिसन सम्पन्न भैसकेको आयोजकले जानकारी दिएको छ । डिजिटल अडिसनमा प्रतिस्पर्धीको संलग्नता उत्साहजनक रहेको बताईएको छ । अहिले अडिसनबाट छानिएका बालबालिकाहरु ‘ब्लाइन्ड अडिसन’को तयारीमा व्यस्त छन् । आइतबारबाट ‘ब्लाइन्ड अडिसन’को छायांकन सुरु हुनेछ । यो शोलाई कात्तिकबाट प्रशारण गर्ने तयारीमा आयोजक टिमको रहेको छ ।

यो रियालिटी शोका लागि चारजना कोचहरु पनि फाइनल भइसकेको छ । जसमा दुई जना कोचहरु ‘द भ्वाइस अफ नेपाल’ कै रहने छन् । यो शोमा गायकद्धय राजु लामा र प्रमोद खरेल कोचको रुपमा रहनेछन् । यस्तै, कोचकै रुपमा गायिकाद्धय मिलन नेवार र प्रविशा अधिकारी रहने पक्का भएको छ । नेपाली संगीत जगतमा नयाँ आयाम थप्ने प्रयास साथै नेपाली बालबालिकाको प्रतिभा अब विश्व सामु पनि राख्ने उद्देश्य लिएर नेपालका यी चार संगीतका हस्तीहरु ‘द भ्वाइस किड्स’ लिएर छिटै तपाईहरुले घरको टेलिभिजन स्क्रिनमा आउन लागेको भनेर निर्माण टिमले आधिकारिक फेसबुकमार्फत जानकारी गराएको छ ।

‘द भ्वाइस किड्स’ लाई ‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले नै निर्देशन गर्नेछन् । ‘द भ्वाइस अफ नेपाल’को तेश्रो सिजनसम्म सम्पन्न भइसकेको छ । कोरोना महामारीबिच सुरु भएको शो ‘द भ्वाइस अफ नेपाल ३’ निकै लोकप्रिय बनेको थियो । यसकारण शो का धेरै एपिसोडहरु युट्युबको ट्रेन्डिङमा समेत परेका थिए।

भ्वाइस अफ नेपाल सिजन-३ को विजेता किरण गजमेर बनेका थिए। केहि महिना गाडि सम्पन्‍न ग्रान्ड फिनालेमा प्रतिस्पर्धीहरु ज्वाला राई, आर्यन तामाङ र तारा श्रीष मगरलाई पछि पार्दै गजमेर विजेता बन्न सफल भएका हुन् । किरण गजमेर कोच प्रमोद खरेलको टिममा थिए ।

Leave a Reply