५ वर्षपछि चलचित्रमा फर्कँदै दिक्पाल कार्की

अभिनेता तथा मोडल दिक्पाल कार्की पाँच वर्षपछि चलचित्रमा फर्किएका छन्। आफुले अभिनय गरेको दुवै चलचित्र असफल भएपछि मोडलिङ र म्यूजिक भिडियोमा व्यस्त रहेका दिक्पालको चलचित्र ‘अञ्जली’ मा प्रवेश भएको हो ।

दिक्पालले फेसबुकमार्फत चलचित्रमा आफू आबद्ध भएको जानकारी दिँदै लेखेका छन्, ‘धेरै बर्षपछि ठूलो पर्दामा सानो तर विशेष भूमिकामा काम गर्दैछु । फिल्ममा म एउटा गीत र छोटो मिठो भूमिकामा मात्र देखिनेछु । अलिक फरक र राम्रो काम गर्न खोज्ने टिमसँग आबद्ध हुन पाउँदा खुशी लागेको छ ।’ फिल्ममा आफ्नो भूमिका सानो भए पनि दर्शकलाई निराश नबनाउने उनले बताए ।

दिनेश लिङ्देनको निर्देशन रहेको ‘अञ्जली’ हत्याहिंसा र अपहरणको कथामाथि आधारित भएर निर्माण हुन लागेको हो । चलचित्रमा दिक्पालसंगै एलिना बासकोटा, विमला खजुम, पुर्व राज्यमन्त्री श्रीप्रसाद जबेगु, स्मृति लिम्बु, असली बनेम, सागर केरुङ, हाङ चेम्जोङ, दिनेश माङमु, शर्मिला शर्मा, विशाल सेनीहाङ, नन्दु तुम्बापो लगायतका कलाकारहरुको अभिनय रहनेछ । चलचित्रको आइतवारबाट छायांकन सुरु भएको छ ।

दिक्पालले निर्देशक शम्भु प्रधान निर्देशित चलचित्र ‘रंग बैजनी’ बाट अभिनेताको रुपमा डेब्यू गरेका हुन् । सन् २०१६ मा दिक्पालले दोस्रो चलचित्र ‘च्याम्पियन’ मा काम गरेका थिए । सन् २००९ देखि मोडलिङ सुरु गरेका ६ फिट अग्ला मोडल दिक्पालले नेपालमा विभिन्न चर्चित शोहरुमा भाग लिइसकेका छन् । भेटेनरी डाक्टरसमेत रहेका दिक्पालले एकसय भन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

दिक्पालले म्यानमारमा सम्पन्न मिस्टर मोडल अफ द वर्ल्ड– २०१८ को उपाधि पनि हात पारेका थिए । विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्राण्डहरुका लागि समेत अभिनय गरेका उनले विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय शोहरुमा मोडलिङ गरिसकेका छन् ।

जिल्ला प्रशासन कार्यलयले चलचित्र छायांकनका लागि अनुमती दिएपछि धमाधाम चलचित्रहरु फ्लोरमा निस्कन थालेका हुन् । गत शुक्रवारबाट अभिनेता गौरव पहारी र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको चलचित्र ‘घिन्ताङ’ को पनि पनौतीको खोपासी गाउँबाट छायांकन सुरु भएको छ ।

Leave a Reply