गौरव र केकीको मुख्य भूमिका रहने ‘घिन्ताङ’को छायांकन सुरु

चलचित्र ‘घिन्ताङ’ को छायांकन सुरु भएको छ । पनौतीको खोपासी गाउँमा पहिलो सेड्युलको छायांकन हुने चलचित्र शुक्रवारबाट फ्लोरमा निस्किएको हो । चलचित्रमा अभिनेता गौरव पहारी र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा छन् । सुटिङ सेटबाट बाहिरिएको एक तस्बिरमा उनीहरुलाई भिन्न लुक्स र गेटअपमा देख्न सकिन्छ ।

​निर्देशक दीपक श्रेष्ठ सात वर्षपछि यहि चलचित्रबाट निर्देशनमा फर्किन लागेका हुन् । कुनै समय नेपाली चलचित्र क्षेत्रमा सुपरहिट चलचित्र दिएका दीपक चलचित्रमा कमब्याकको तयारीमा छन् । साहित्यकार मन्दिरा ‘मधुश्री’ ले लेखेको ‘मासुको मुल्य’ कथामाथि निर्माण भइरहेको चलचित्रमा नीर शाह र मदनकृष्ण श्रेष्ठको विशेष भूमिका रहनेछ ।

चलचित्रको कथा अन्तरजातीय सम्बन्धमा केन्द्रित हुने निर्माण पक्षले जनाएको छ। चलचित्रमा अभिनेता गौरवले चौतारीमा मादल बजाएर बेच्नेको भूमिका निर्वाह गर्दैछन् भने अभिनेत्री केकी ब्राह्मण परिवारकी महिलाको भूमिका निर्वाह गर्दैछिन्। श्रीमतीको निधनपछि एकल जीवन विताइरहेका धने (गौरव) र श्रीमानको निधनपछि एक्ली भएकी लक्ष्मी (केकी) बीचको प्रेम सम्बन्धको कथालाई चलचित्रमा देखाइनेछ ।

कोरोना महामारी र लकडाउनका कारण छायांकनमा जान नसकेको यो चलचित्रको छायांकन चैत्रको पहिलो साताबाट नै सुरु हुने पक्का गरिएको थियो । तर निर्देशक दीपक श्रेष्ठलाई र त्यसपछि अभिनेत्री केकीलाई पनि कोरोना पोजिटिभ देखिएपछि छायांकन हुन सकेको थिएन।चलचित्रमा दीपकले अनुवन्धित गरेका दुई अभिनेत्रीले भने चलचित्र छाडेपछि केकी भित्रिएकी हुन् ।

केकी भन्दा अगाडि अभिनेत्री एलिजा गौतम र अभिनेत्री लक्ष्मी वर्देवा चलचित्रमा अनुवन्धित भएका थिए । लक्ष्मी वर्देवालाई राखेर यसको शुभसाइत समेत गरेका थिए । चलचित्रको गीतमा दीपक शर्माको सङ्गीत रहने छ भने सङ्कल्प भुजेलको छायाङ्कन रहने छ।

जिल्ला प्रशासन कार्यलयले चलचित्र छायांकनका लागि अनुमती दिएपछि धमाधाम चलचित्रहरु फ्लोरमा निस्कन थालेका हुन् । त्यसैगरी सरकारले हल खोल्न अनुमति दिएपछि गत हप्ता ‘ए मेरो हजुर ४’ ले चैत २५ गते र ‘लप्पन छप्पन २’ ले फागुन १३ गतेलाई रिलिज डेट घोषणा गरेको छ ।

Leave a Reply