कोरोना जितेपछि मदनकृष्ण लेख्छन्–‘कोरोनाले मलाई पछार्न त नराम्रै संगै पछार्यो’

कलाकार मदनकृष्ण श्रेष्ठले कोरोना जितेका छन् । अस्पताल भर्ना भएका उनले घर फर्किएको एक सातापछि मंगलबार ‘कृतज्ञता ज्ञापन’ भन्दै फेसबुकमा स्टाटस लेखेका छन् । सबैको अमृतमय मायाको बलले कोरोनारुपी बिषलाई आफूले मज्जाले पचाएको उनले बताएका छन् र सबैलाई हृदयदेखि कृतज्ञता पनि ब्यक्त गरेका छन् । उनले लेखेका छन्, “कोरोनाले मलाई पछार्न त नराम्रै संगै पछार्यो। पछार्यो मात्र हैन अझ लछार्यो र हस्पिटलमा लगेर मलाई बेस्कन बजार्यो्, ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो बेला बेलामा तर्सायो पनि। बलियो चाहिँ निक्कै बलियो रहेछ बजिया … । तर सबैको माया, शुभेक्षा, प्रार्थना, र आशिर्बादको बलले गर्दा मलाई त्यसले जित्न भने सकेन।”

अब शरिरमा अलि अलि शिथीलता बाकि रहेको र त्यो पनि अलि अलि गर्दै कमकम हुँदै गएको पनि उनले उल्लेख गरेका छन्। मदनकृष्ण पहिलो पटक ८ दिन र दोश्रो पटक १४ दिन मेडिसिटी अस्पतालमा उपचार गराएर घर फर्किएका हुन् । उनले अहिलेको अवस्थामा सरकारले कोरोना महामारीलाई पहिलो प्राथमिकता दिएर जती सकिन्छ छिटो जनतालाई भ्याक्सिन लगाउनुर्ने सुझाव पनि दिएका छन् । ‘अहिलेको अवस्थामा सरकारले कोरोनालाई पहिलो प्राथमिकता दिएर, सबै तिरबाट जती सकिन्छ छिटो भ्याक्सिन दिएर जनताको ज्यान बचाउनतिर लाग्न सम्झाउन चाहान्छु’ मदनकृष्णले भनेका छन्, ‘जनता नै भएन भने कसलाई शासन गर्ने ? होइन त ?’

Leave a Reply