Dibesh Pokhrel (Arthur Gunn)लाई भोलीको Finalमा जिताउन, यसरी गर्नुहोस Vote (भिडियो)

कोरोनाको त्राश र लकडाउन झेल्दै अमेरिकाको प्रख्यात गायन रियालिटी शो ‘अमेरिकन आइडल’ को भिडन्त क्लाइमेक्समा पुगेको छ । जारी १८औं संस्करणमा नेपाली युवा दिवेश पोखरेल (आर्थर गन) ले पनि उपाधिको दावेदारी प्रस्तुत गरिरहेका छन् ।

क्यालिफोर्नियाको समयअनुसार आइतबार बेलुकी ८ बजे (नेपालमा सोमबार बिहान) टप ७ को प्रतिस्पर्धा सुरु हुनेछ । सुरुमा अघिल्लो साता भएको भोटिङका आधारमा टप ५ को घोषणा गरिनेछ र दुईजना प्रतिस्पर्धाबाट बाहिरिने छन् । त्यसपछि लगत्तै पाँच जनाका लागि भोटिङ खुल्ला हुनेछ । फाइनल राउण्डमा टप ५ प्रतियोगीले दुई-दुईवटा प्रस्तुति दिने छन् । तीन निर्णायकहरु र पूर्व अमेरिकन आइडलहरुले पनि प्रस्तुति दिने भनिएको छ ।

गत १६ फेबु्रअरीबाट एबीसी टेलिभिजनमा पि्रमियर भएको अमेरिकन आइडल यसपालीको फम्र्याटअनुसार सुस्त थियो । टप २० सम्म आइपुग्न २ महिनाभन्दा बढी लाग्यो । तर, त्यसपछि भ्यागुतो उफ्रझैं तीन साताभित्रै फाइनल राउण्डमा पुगेको हो ।
लकडाउनका कारण पछिल्ला दुई एपिसोडहरुमा प्रतियोगीले आ-आफ्नै घरबाट प्रस्तुति दिने व्यवस्था मिलाइएको थियो ।

फाइनलमा पनि यही तरिका अपनाइने छ । टप ५ प्रतिस्पर्धिले दर्शकको भिडमाझ गाउन पाउने छैनन् । उनीहरुले घरबाटै गाउने र जजहरुले पनि घरबाटै हेर्ने गर्नेछन् । टिभी स्टुडियोमा प्रस्तोता मात्रै हुन्छन् । भिडियो कन्फ्रेमार्फत १८ औं अमेरिकन आइडलको घोषणा हुने छ ।

यसपाली अमेरिकन आइडलमा अहिले दिवेश नै सबैभन्दा चर्चित प्रतियोगी हुन् । उनको फ्यान फलोइङ नेपालीमाझ मात्र नभए अमेरिकीहरुमा पनि उत्तिकै देखिएको छ । गायकीले मात्र नभएर विनम्र स्वभावका कारण पनि दिवेशलाई धेरैले मन पराएका छन् ।

विभिन्न अनलाइन सर्भेक्षणहरुले पनि उनलाई प्रबल दावेदार मानेका छन् । सामाजिक सञ्जालमा सबैभन्दा बढी फ्यान फलोइङ उनको छ । तर, अन्य प्रतिस्पर्धि कमजोर छन् भन्ने होइन । गायिकाको हिसाबले सातै जना अब्बल छन् । सबैको फरक-फरक स्टाइल छ । दिवेशचाहिँ ‘रफ’ आवाजका लागि चिनिएका छन् । रक जनराका गीतमा जम्दै आएका उनले गत एपीसोडमा भने मेलोडियस गीत पनि सुन्दर तरिकाले गाएका थिए ।

अन्तर्राष्ट्रिय मञ्चमा कुनै नेपाली पुग्यो भने संसारभरका नेपालीहरु एकजुट भएर उसलाई जित्न सघाउने परम्परा नै बनिसकेको छ । भोटिङका आधारमा फैसला हुने धेरै उपाधि नेपालीहरुले घर ल्याएका पनि छन् । त्यसैले भोलिको नतिजा पनि दिवेशको पक्षमा आयो भने आश्चर्य हुने छैन ।

नेपाली समुदाय उत्साहित

कोभिड १९ को सबैभन्दा बढी चपेटामा परेको देश हो अमेरिका । महामारीका कारण त्यहाँको जनजीवन अस्तव्यस्त नै छ । अमेरिकाको नेपाली समुदायमा पनि महामारीको असर नपर्ने कुरा भएन ।

कोरोनाको त्राश र निराशाका बीच पनि दिवेशलाई अमेरिकन आइडल बनाउन नेपालीहरुमा राम्रै उत्साह छ । अरुबेला फलानो जात र ढिस्कानो जातका भनेर छुट्टिने नेपाली समुदायलाई दिवेसले एक ठाउँमा ल्याएका छन् । उनले आइडल जितेमा ‘अमेरिकीहरुले नेपाल चिन्ने’ लोभ पनि नेपालीहरुलाई छ ।

कोलोराडोमा बस्ने तारा नेपाल भन्छन्, ‘दिवेश अमेरिकन आइडल भए भने डोनाल्ड ट्रम्पले पनि नेपाल चिन्थे कि ?’

न्यूयोर्कमा बस्ने सरगम भट्टराईले फेसबुकमा लेखेका छन्, ‘नेपाली बाबु दिवेश (आर्थर गन) ले अमेरिकन आइडलमा बाजी मार्ने देखिँदै छ है । नेपालीहरु विदेशमा जतिसुकै दल र समुह बनाउन्, परेको बेलाचाहिँ एकै ठाउँ आउँछन् । यो अति सुन्दर पक्ष हो । आइतबार मज्जाले भोट गर्नुपर्छ है त ।’

त्यसो त विश्वकै सबैभन्दा चर्चित गायन रियालिटी शो दिवेशले जितेको खण्डमा त्यो अमेरिका मात्र नभएर विश्वभरकै नेपालीका लागि गर्वको कुरा हुने छ ।

भोट कसरी ?

विगतमा नेपाली मूलका प्रशान्त तामाङले इन्डियन आइडलमा प्रतिस्पर्धा गर्दा नेपालमा ठूलै उमंग थियो । त्यसबेला नेपालीहरुले पैसा उठाएर भोट गर्ने अभियान नै चलाएका थिए ।

यसपटक कोभिड-१९ को त्राश र लकडाउनका कारणले पनि दिवेशका पक्षमा नेपालभित्र ठूलो भोटिङ अभियान देखिएको छैन । दिवेशलाई अमेरिका बाहिरबाट भोट दिन पाइन्छ वा पाइँदैन भन्नेमा शंसय समेत छ । अमेरिकन आइडलमा आधिकारिकरुपले अमेरिकाबाट मात्रै भोट गर्न सकिन्छ ।

अमेरिकाबाट भोट गर्नका लागि तीन तरिका छन् । पहिलो idolvote.abc.com मा गएर भोट गर्न सकिन्छ । दोस्रो, अमेरिकन आइडलको एप डाउन गरेर र तेस्रो, एसएमएसबाट । अमेरिकामा एसएमएसमार्फत भोट गर्नका लागि प्रतियोगीको कोड नम्बर टाइप गरेर २१५२३ मा पठाउनुपर्छ । दिवेशको नम्बर १६ हो ।

माथि उल्लेखित विधिहरुबाट तोकिएको समयभित्र अमेरिकामा एकजनाले १० वटासम्म भोट गर्न सक्छन् । नेपालसहित अन्य देशहरुबाट भोट गर्न मिल्ने औपचारिक व्यवस्था छैन । यद्यपि, भीपीएन एप्लिकेसन प्रयोग गरी अन्य देशबाट पनि अमेरिकन आइडलमा भोट हाल्ने गरिएको छ । डिभाइसमा भीपीएन डाउनलोड गरेर त्यसमा आफू अमेरिकामा रहेको जनाई माथिको प्रक्रियाबाट भोट हाल्ने गरिन्छ ।

के छ पुरस्कार ?

अमेरिकन आइडलको बिजेताले ६ वटासम्म एल्बमका लागि एउटा चर्चित कम्पनीबाट महँगो रकममा सम्झौता प्राप्त गर्ने छ । यसैगरि अमेरिकन आइडलसँग आवद्ध १९ म्यानेजमेन्टसँग व्यवस्थापन सम्झौता हुनेछ ।

अघिल्लो वर्ष विजेताले हलिउड रेकर्ड्ससँग एल्बमका लागि सम्झौताका साथमा एक लाख २० हजार डलर नगद पुरस्कार पाएका थिए । साथै, उनलाई एल्बमको काम सकिएपछि अतिरिक्त एक लाख २० हजार डलर पनि दिइएको थियो ।

यसैगरि, एल्बम रेकर्डिङका क्रममा प्रत्येक हप्ता एक हजार डलर र एल्बमको रोयल्टीबापत एक हजार डलरका दरले दिइएको थियो । बिजेता भएको चार महिनाभित्रमा पहिलो एल्बमको काम सक्नुपर्ने हुन्छ । कम्पनीले एल्बमका लागि गरिएको मार्केटिङ खर्चको ५० प्रतिशत विजेताले व्यहोर्नुपर्ने प्रावधान छ ।

दशौं एपिसोडसम्म दोस्रो हुनेहरुले पनि एल्बमका लागि सम्झौता प्राप्त गर्थे । तर, ११ औं एपिसोडदेखि फस्र्ट रनरअपले एउटा गीतका लागि मात्रै सम्झौता गर्न सक्छन् । टप १०मा पुगेका सबैले वल्र्ड टुरको अवसर पाउनुका साथै ६ अंकमा पारिश्रमिक प्राप्त गर्ने गर्थे । तर कोरोनको महामारीका कारण यसपाली त्यो अनिश्चित बनेको छ ।

This Post Has One Comment

Leave a Reply