‘प्रेमगीत ३’ प्रदर्शन पनि स्थगित

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाल सरकारले बिहीवारबाट देशभरका सिनेमा हलहरु बन्द गर्ने निर्णय गरेसँगै चैत र बैशाख दोस्रो सातासम्म प्रदर्शनका लागि तयारी अवस्थामा रहेका नेपाली चलचित्रको रिलिज भद्रगोल भएको छ । बिहीवारबाट सम्पूर्ण सिनेमा हल बन्द भएपछि निर्माताहरु चलचित्रको प्रदर्शन सार्न बाध्य भएका छन् ।

नयाँ वर्ष २०७७ को छेको पारेर चैत २८मा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेम गीत ३ ’को रिलिज स्थगित गरिएको हो । निर्माता सन्तोस सेनले चलचित्रको रिलिज स्थगित भएको जानकारी दिए ।‘पोष्ट प्रोडक्सन कसरी सकाउने भन्ने हतारो थियो’ निर्माता सेनले भने ‘अव फुर्सदले काम गर्न पाइने भयो ।’ चलचित्रको केही सुटिङ पनि बाँकी रहेको बताएका सेनले यो फुर्सदमा सुटिङ पनि सकाउने सुनाए । चलचित्रको सार्वजनिक गरिएको दुई गीत र टिजरले दर्शकको सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ ।

चलचित्रमा प्रदीप खड्का तेस्रो पटक ‘प्रेम’को रुपमा देखिँदैछन् भने नव-अभिनेत्री क्रिस्टिना गुरुङ ‘गीत’ र सन्तोष आफैँ ‘अंगत’को भूमिकामा पर्दामा देखिनेछन् । प्रदीप र क्रिस्टिनाका साथमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको पनि अभिनय हेर्न सकिनेछ ।

डेढ सय वर्ष अगाडिको कथा समेटिएको चलचित्रमा आफु नकारात्मक भूमिकामा देखिन लागेको निर्माता सेनको भनाइ छ । सन्तोष सेनको लगानीमा बन्न लागेको चलचित्रमा चत्र बहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्माताको रुपमा रहेका छन् । कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको चलचित्रमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर भरेका छन् । तीन करोड लागतमा बनेको चलचित्रमा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

Leave a Reply