‘सतीदेवी’ प्रति संचारमन्त्री शर्माको चासो

संचार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले चलचित्र ‘सतीदेवी’ प्रति चासो लिदै नेपालमा यस प्रकारका मौलिक,यथार्थपरक चलचित्र निर्माणमा जोड दिनुपर्ने बताएकी छिन् । मन्त्री शर्मा र ‘सतीदेवी’ का लेखक,निर्माता,निर्देशक लक्ष्मण सुवेदीबीच गत बुधबार मन्त्रीकै कार्यकक्ष,सिंहदरवारमा भएको भेटघाटमा नेपाली चलचित्रको बिकास,बिस्तार र श्रीबृद्धिका लागि मौलिक कथा प्रस्तुतिमा जोड दिनुपर्ने मन्त्री शर्माको राय थियो । मन्त्री शर्माले चलचित्र ‘सतीदेवी’ नारी प्रदान,मौलिक कथामा निर्माण भएको सुनेकाले आफूलाई रुचि लागेको बताएकी थिइन् ।

निर्देशक सुवेदीले मन्त्री शर्मालाई आफ्नो चलचित्रको बिषयबस्तुको बारेमा बिस्तृतमा ब्याख्या गरेका थिए । मन्त्री शर्माले ‘सतीदेवी’ चलचित्र बारे निकै अभिरुचिका साथ सुनेर यस प्रकारका मौलिकता बोकेका नेपालीपनयुक्त चलचित्रलाई राज्यले बिशेष रुपले सहयोग गर्ने प्रतिबद्धता जनाएको निर्देशक सुवेदीले बताए । मन्त्री शर्माले आफू सधै नेपाली चलचित्रको गुणस्तरिय र ब्याबसायिक बिकासको पक्षमा रहेको जोड दिदै छिट्टै नै चलचित्र ऐन लागू गर्न आफू लागीपरेको बताइन् ।

मन्त्री शर्माले चलचित्र अभिब्यक्तिको निकै सशक्त माध्यम भएकाले देशको कला,भाषा,संस्कृतिको बिकास र प्रबद्र्धनमा निकै प्रभावकारी भूमिका निर्वाह गर्ने बताउँदै चलचित्रकर्मीहरुले मौलिक चलचित्र निर्माणमा लाग्नु पर्ने धारणा राखिन् । संचारमन्त्री शर्माले आफ्नो चलचित्रप्रति दिएको अभिरुचि र सहायताको प्रतिबद्धताबाट आफू निकै प्रफुल्लीत र प्रेरित भएको निर्देशक सुवेदीले बताए । उनले मन्त्री शर्मा नेपाली चलचित्र र चलचित्रकर्मीको समुन्नतीका लागि केही गरौं भन्ने भावनायुक्त पाएको समेत उल्लेख गरेका छन् ।

दिलासा कृएसनले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा निर्माण गरेको चलचित्र पछिल्लो समय निकै चर्चामा छ । गत माघ तेश्रो साता सौराहामा सम्पन्न सौराहा दक्षिण एसियाली चलचित्र महोत्सवमा सर्वोत्कृष्ट चलचित्र र शिब रेग्मी सर्वोत्कृष्ट चलचित्र निर्देशक अवार्ड जितेको ‘सतीदेवी’ मा मलिका महत,हर्षिका वली,मञ्जिला बानियाँ,कुलबहादुर अधिकारी लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको प्रदर्शन मिति केही समयमै तोकिने निर्देशक सुवेदीले बताएका छन् ।
०००

Leave a Reply