रगत, छाडा संवाद र अश्लिल दृष्य मन पर्दैन भने एनिमल फिल्म तपाईका लागि होइन

– देवेन्द्र शिखा

एनिमल (Animal) फिल्मको हाइप पहिलेबाट नै उच्च थियो । त्यसमाथि जब ट्रेलर सार्वजनिक भयो, त्यसले नै बतायो कि एनिमल फिल्म चलेका हलहरू अब निकैदिनसम्म हाउस फुल चल्नेछन् ।

ट्रेलरमा जब रणविर कपुरले फिल्ममा बाबुको भुमिकामा रहेका अनिल कपुरलाई पापा, पापा, पापा भन्दै नाटक गर्न लगाउँछन् र त्यसको जवाफमा जब भन्छन्, ‘सुन रहा हुँ । बहरा नहि हुँ मै’ । दर्शकहरूलाई त्यति मात्रले पनि हलसम्म पुर्याउन काफी थियो । त्यसपछि आउने डरलाग्दा द्धन्छका दृष्यहरू र फरक फरक अवतारमा देखिने रणविर कपुरले फिल्म सकेसम्म पहिलो दिन, पहिलो शोमा पुग्नु पर्ने झै बनाउँथ्यो ।

भयो पनि त्यस्तै, एनिमलले भारतमा ४ लाख भन्दा बढि प्रिबुकिङ टिकट बेच्यो । नेपाल र अन्य धेरै देशमा पनि बुकिङ लगभग हाउसफुलको अवस्थामा थियो । फिल्मले पहिलो र दोस्रो दिन निकै राम्रो व्यापार गरेको बक्स अफिस विवरण आइरहेका छन् ।

तपाई रणविर कपुरको फ्यान हो भने तपाईले एकपल्ट मात्र हेरेर यो फिल्म चित्त बुझ्ने छैन । किनभने फिल्ममा रणविर जुन भुमिका र अवतारमा देखिन्छन्, तपाईको आँखा हट्नेवाला छैन । जुन सुकै भुमिकाका लागि पनि भारतमा रणविर कपुरको अर्को विकल्प छ भन्ने प्रश्नको जवाफ खोज्न गाह्रो छ भन्ने अवस्थामा तपाई पुग्नु हुन्छ ।

अन्य कलाकारहरूको अभिनय पनि राम्रो छ । धेरै पछि स्क्रिनमा देखिएका बबी देओलको खलनायकरूप थोरै तर विशेष छ । स्क्रिनमा उनी खलनायककारूपमा उम्दा देखिएका छन् । अनिल कपुरको अभिनय सदा झैँ राम्रो छ । सन्दिप रेड्डी भाङ्गाले दर्शकहरूलाई स्क्रिनमा टाँसिराख्न कुनै पनि कसर छोडेका छैनन् । असाध्यै तरंगित पार्ने र बिष्फोटक दृष्यहरुले तपाईको रगतमा नै उत्साह भरिदिन्छन् । फिल्म लामो छ तर तपाईलाई कहिलै लामो भयो भन्ने महसुस हुदैन ।

फिल्मको व्याकग्राउन्ड संगीत रणविर कपुरको भुमिकासँग दुरुस्तै मिल्दो छ । पार्श्व संगीत चर्को र मधुर हुँदा पनि दृष्यसँगै बगिरहन्छ ।

कथानकमा नयाँपन उस्तो केहि पनि छैन । फिल्ममा कथा पनि छ भन्ने कुराले उति अर्थ पनि लाग्दैन । तर मुख्यतय यसमा बाबुले छोराको मायाको कदर नगर्दा छोराले महसुस गरेको बिना शर्तको प्रेम देखाइएको छ । त्यसका अतिरिक्त फिल्ममा मानिस जंगल युगमा रहदाको ‘अल्फा मेल’ वा नाइकेलाई आधुनिकिकरण गरिएको छ ।

जंगली युगमा हरेक परिवारमा ‘अल्फा मेल’ वा नाइके हुन्थ्यो । जसले परिवारलाई खाना खुवाउँथ्यो, संरक्षण गर्थ्यो । महिलाहरु त्यहि ‘अल्फा मेल’ वा नाइकेलाई छान्थे र उसबाट नै प्रजनन गराउँथे । त्यो ‘अल्फा मेल’ वा नाइकेका लागि प्रमुख जिम्मेवारी नै आफ्नो परिवारको सुरक्षा हुन्थ्यो । परिवारको सुरक्षाका अगाडि नियम, कानुन, अरु कुरा केहि पनि मुख्य हुन्थेनन् । मानिसको जंगली युगलाई एक दृष्यमा विजय (रणविर कपुर) ले नायीका गीताञ्जली (रश्मिका) यसरी नै बुझाउँछ । फिल्मभरि विजयले आफुलाई ‘अल्फा मेल’ सम्झिन्छ । र उसले भने झै अल्फा मेलको कर्तव्य पुरा गर्छ ।

अस्वभाविक देखिने दृष्यहरुमा पनि कलाकारको अभिनय, पार्श्व संगीत र दृष्यले वास्तविक महसुस भइरहन्छन् तर केहि दृष्यहरु भने फिल्ममा नै पनि अस्वभाविक लाग्छन् । जस्तै : सयौँसँग विजय लडिरहदा र बञ्चरोको प्रहार खाइरहदा पनि उसको ग्याङ बार्दलीमा बसेर गीत गाइरहेका हुन्छन् । त्यस्तै अर्को डरलाग्दो फाइट भएको दृष्यमा पार्श्वमा बजिरहेको गीतले फाइटसँग तादात्म्य मिलाउन नसकेको जस्तो लाग्छ ।

तर यी दृष्यहरू फिल्ममा ध्यान दिदा मात्रै याद हुने जस्तै गरेर हराएर जान्छन् र दिमागमा रहन्छन्, रणवीर कपुर र उनको अभिनय । कुनै असल कलाकारले निखारिएर खेलेको फिल्म हो एनिमल । कुनै निर्देशकले बन्धनरहीत बनाएर बनाएको फिल्म हो एनिमल ।

तर तपाईलाई रगत, द्धन्द्ध, छाडा संवाद र दृष्य मन पर्दैन भने यो फिल्म तपाईका लागि होइन ।

Leave a Reply