पुराना याद ताजा गराउने फिल्म ‘हल्कारा’

‘उम्केको माछा ठुलो’ भन्ने उखान त सुन्नुभएकै होला । यो उखान हरेक पाइलामा लागु भइरहेको हुन्छ । यतिसम्म कि, बाल्यकालमा मन नपरेका कुराहरु ठुलो भएपछि मन पर्न थाल्छन् । अझै ति मन नपरेका कुराहरु सम्झेर रमाउन थाल्छन् र त्यो जिवन फेरि जिउन पाए भन्ने कल्पना गर्छन् ।

अहिले प्रविधिको जमाना आइसकेको छ । छिनछिनमा म्यासेज गर्न सकिन्छ । तर चिठ्ठीपत्रबाट डिजिटल म्यासेजमा सिफ्ट भएकाहरु पुरानो दिनमा हातले लेखेको पत्रमा भावना भएको मान्छन् । प्रविधिले भावना कमजोर बनाइदिएको सम्झन्छन् । मानिस भनेकै बर्तमानमा बाँच्न छाडेर बिगत सम्झेर नोस्टाल्जिक हुने प्राणी हो । मानिस परिवर्तन स्वीकार्न नसक्ने पश्चगामी सोचका हुन्छन् भन्दा फरक पर्दैन । त्यसैले त बिगतमा बाँच्न चाहन्छन् मान्छे । पशुजस्तै फुर्सतमा उघ्राउँदै पुराना दिन सम्झेर खुशी हुन चाहन्छन् मान्छे । हल्कारा त्यहि बिगत हो, जसमा मान्छे फेरि फर्किन चाहन्छ र त्यस्तै जीवन जिउन चाहन्छ ।

हल्कारा एक हुलाकीको यात्रा हो । हल्कारा आफ्नाहरुको खबर पर्खाइको कथा हो । फिल्म हेरिरहँदा बिगतका बिभिन्न घटनाहरुलाई याद गराउन सक्नु नै यो फिल्मको सबैभन्दा सशक्त पाटो हो । हल्काराले पत्रमित्रता गर्नेहरुदेखि प्रदेशमा भएका आफन्तको चिठ्ठी पर्खेर बसेका दिनहरुलाई ताजा गराउँछ ।

गह्रौं झोला बोकेर गह्रौं पाइला सहित उकालो चढिरहेको राम (महेश त्रिपाठी) बाध्यतामा हुलाकी बन्नपरेको पात्र हो । उसको बाध्यता र जिम्मेवारीलाई छायांकनको माध्यमबाट देखाइएको छ ।
श्रीमानको खबर पर्खेर बसेकी मिया (बिनिता थापा मगर) को पनि छायांकन मार्फत नै चरित्रचित्रण गरिएको छ । उनि दृष्यमा देखाइएजस्तै कुहिरोमा रुमल्लिएर एक्लो टोलाइरहेकी पात्र हुन् ।
एक दृष्यमा मिया धमिलो सपना देख्छिन् । त्यो दृष्यलाई ब्लोर बनाएर खिचिएको छ । जसरी श्रीमानको याद मियाको दिमागमा धमिलो बन्दै गइरहेको छ, त्यस्तै सपना समेत ब्लोर गरिदिँदा फिल्मलाई भिज्योल्ली दर्शकले अनुभुति गर्नसक्ने बनेको छ ।

यसरी हेर्ने हो भने, फिल्मले सबै पात्रहरुको चरित्र चित्रणमा ध्यान दिएको छ । दिदीको भुमिका निर्वाह गरेकी पशुपति राईको अभिनय निकै स्वभाविक लाग्छ । अन्य पात्रहरु पनि एकदमै बिचार पुर्याएर निर्माण गरिएको छ । त्यस्तै कलाकारको अभिनय अर्को अब्बल पाटो हो । प्रसाद २ मा एकदमै निराश बनाउने अभिनय गरेका महेश त्रिपाठीले यो फिल्मबाट फेरि आफुलाई बलियोसँग स्थापित गरेका छन् । बिनिता थापा मगरको अभिनय उस्तै अब्बल छ । अन्य सहायक पात्रहरुको अभिनय मौलिक छ ।

फिल्ममा संवादहरु एकदम कम प्रयोग गरिएको छ । अभिकांश इमोसन भिज्योलबाटै भन्न खोज्नु र भन्न सक्नु यो फिल्मको अर्को बलियो पाटो हो । यसरी कम संवादमा पनि कथा भन्न फिल्मलाई ब्याकग्राउण्ड स्कोरले काम गरेको छ । साउण्ड डिजाइनिङमा राम्रो काम भएको छ ।

फिल्ममा क्यामराको प्रयोग तारिफयोग्य पाटो हो । वाइड सट, क्लोज सटसँगै एडिटिङसम्म मिहेनत गरिएको छ । कलरिङमा फिल्मले गरेको प्रशंशायोग्य काम कलरिङ पनि हो ।
भनिरहेको भन्दा फरक तरिकाले कथा भन्न कोशिस गर्नु यो फिल्मको सबैभन्दा सुन्दर पक्ष हो । नयाँ स्वादका फिल्म नबनाउने अनि दर्शकलाई फिल्म बुझेन भनेर गाली गर्ने जमातमा यो फिल्मको उपस्थिती प्रशंसा योग्य छ ।

फिल्ममा सस्पेन्स र स्टोरी रिभिल र टर्न एण्ड ट्वीष्ट निकै राम्रो छ । दर्शकको मनमा उत्सुकता जगाउँदै अन्त्यमा त्यो जिज्ञासा मेटाएसँगै फिल्म सकिएको छ ।
प्रशंसा गर्ने धेरै बाटोहरु हुँदाहुँदै पनि फिल्मका केहि कमिकमजोरी भने अवश्य छन् । यसको एउटा समस्या हो, टाइमफ्रेम तोक्न नसक्नु । फिल्ममा श्री ५ को सरकार भन्ने उल्लेख छ । त्यसैले यो राणाकालको अन्त्य र लोकतन्त्र आउनुअघिको समयलाई जनाउँछ । यो बीचको समयमा फिल्मको महिला पात्र पढेलेखेको देखाउनु र अन्जान पुरुषलाई सहज रुपमा एक्लो बुहारीसँग घुमडुल हुन दिनुले फेरि यो टाइमफ्रेम कन्फ्युज बनाउँछ । परिवेश हेर्दा ६०, ६१ सालतिरको कथाजस्तो लाग्छ । तर त्यो समयमा देशमा भएको गृहयुद्ध र अन्जान मानिस बाटोमा हिड्दा राज्यपक्ष र बिद्रोहीपक्षले गरेको अवरोध फिल्ममा छैन । कहिले सेभेरल इयर भनेको छ, त कहिले २ बर्ष अगाडी । कुन समयको कथा भन्न खोजेको भन्ने प्रष्ट बनाउन सकिएको भए, दर्शकलाई त्यो समयमा पुग्न र फिल्मको संसारमा घुस्न सजिलो हुनेथियो ।

त्यस्तै फिल्मको स्कृप्टमा समस्या छ । गाउँमा नयाँ मानिसलाई सजिलै र छिट्टै बिश्वास गर्ने बाताबरण गुमेको धेरै भइसक्यो । अझै एक्ली महिला कोही चिनेजानेका पुरुषसँग कुरा मात्रै गरेपनि ति महिलाको चरित्रहत्या गरिन्छ । मुखले बोल्दा समेत गम्भिर आरोप लाग्ने समाजको कथा भन्दा अन्जान पुरुष लामो समयसम्म बिना कारण घरमै बसाउनु अस्वभाविक र अबिस्वासनिय लाग्छ ।
अर्को एक दृष्य छ, जसमा एक जोडी बृद्धबृद्धा पर्दामा देखिन्छन् । तीनओटा थालमा खाजा हालेको देखाएपछि बाटोतिर हेरेर यो जोडी भावुक हुन्छ । त्यो जोडीको फिल्ममा महत्वपुर्ण भुमिका छ तर त्यो स्पष्टसँग भन्न नसक्दा दर्शकले मुख्य कुरालाई इग्नोर गर्न बाध्य हुन्छन् ।

फिल्ममा दर्शकलाई उल्लु बनाउने तरिकाले गरिएका गल्तीहरु पनि देखिन्छ । चिठ्ठीको खाम किनेर ल्याउँदा धर्के बुट्टा भएको हुन्छ तर बाँड्दा पहेलो र सफेद खाम हुन्छ । भारी बिसाएपछि पात्र जुन बाटो आएको त्यहि बाटो फर्कन्छ । यस्ता सिल्ली मिस्टेक्सहरुलाई पनि फिल्मले ध्यान दिएको भए राम्रो हुन्थ्यो ।
समग्रमा, फिल्मले प्रविधि बिकास नहुँदाको सञ्चारलाई देखाउने प्रयास गरेको छ । फिल्ममा प्रयोग गरिएका सरल र सरस संवाद, लोभलाग्दो सिनेमेट्रोग्राफी र कलाकारको मौलिक अभिनय एकै फिल्ममा हेर्न मन छ भने हल्कारा तपाइका लागि मनपर्ने फिल्म बन्न सक्छ ।

Leave a Reply