‘प्रेमा’को टिजरमा अरुण र शुभेच्छाको प्रेममा सृष्टिको प्रवेश

निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘प्रेमा’को टिजर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक टिजरमा चलचित्रका प्रमुख कलाकारहरु अरुण क्षेत्री, शुभेच्छा खड्का र सृष्टि श्रेष्ठ फिचर्ड छन् । अरुण र शुभेक्क्षाबीच प्रेमलाई देखाइएको छ भने टिजरको अन्तिममा सृष्टिको प्रवेश हुन्छ। टिजरले त्रिकोणात्मक प्रेम सम्बन्धको कथावस्तुलाई चित्रण गर्छ ।

बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित चलचित्र आगामी चैत १७ अर्थात ३१ मार्चमा रिलिज हुँदैछ ।

निर्देशक भण्डारीले चलचित्रले त्रिकोणात्मक प्रेमकथा बोल्ने बताए । फिल्म ‘मञ्जरी’, ‘लभ यू बाबा’, ‘हैरान’, ‘मेरो पैसा खै’, ‘गाँजाबाजा’ र ‘चिनी कम रङ कडा’ जस्ता फिल्ममा सह निर्देशकका रुपमा काम गरेका निर्देशक भण्डारीको पूर्ण निर्देशकीय डेब्यू फिल्म ‘रणवीर’ हो । यो फिल्ममा उनकै लेखनसमेत थियो । यो फिल्मबाट उनले कामको राम्रो तारिफ पाएका थिए ।

फिल्म ‘प्रेमा’मार्फत गोविन्दले फिल्म निर्माणमा पनि पाइला चालेका छन् । गोविन्दसँग लेखक तथा निर्देशक विवेक घिमिरेले ‘प्रेमा’ निर्माणमा सहकार्य गरेका छन् । अमेरिकाको बोस्टन, मेसाच्युसेटमा बस्ने घिमिरे फिल्म ‘चिनी कम रङ कडा’का निर्देशकसमेत हुन् ।

फिल्म ‘प्रेमा’ काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको हो । फिल्ममा अरुण, शुभेक्क्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया९ (काजु)को अभिनय छ ।

सामर्थ विक्रम थापाको कार्यकारी निर्माण रहेको फिल्ममा सुशान्त गौतमको संगीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, अमिषा शाहीको मेकअप, मेघराज पौडेलको प्रोडक्सन, डुकराज घिमिरेको कला, कृष्णबहादुर थापाको सहायक छायांकन, कुलदीप शर्मा, जगदिश न्यौपाने र अनुप केसीको सहायक निर्देशन छ ।

फिल्ममा चन्द्र भट्टराईको प्रमुख सहायक निर्देशन, अमित श्रेष्ठको व्याकग्राउण्ड स्कोर र ५.१ मिक्सिङ, शैफुद्दीन कादर मोहम्मदको क्रिएटिभ हेड, रिवाज कार्की र गडरेज पिक्चरको भीएफएक्स, कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन र महेश पौडेल (WICA) को डीओपी छ । महेश ‘मञ्जरी’ र ‘रणवीर’का डीओपीसमेत हुन् ।

फिल्मलाई उपत्यकामा जीजीए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

Leave a Reply