‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक,‘धुर्मुस-सुन्तली’बीच नोकझोंक (भिडियो सहित)

हास्यकलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को निर्माण र अभिनय रहेको चलचित्र ‘सेन्टी भाइरस’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर हेर्दा चलचित्र समसामयिक राजनीतिक विषयवस्तु र सामाजिक व्यंग्यमा निर्माण भएको बुझ्न सकिन्छ । चलचित्रका संवाद निकै आकर्षक र कमेडी प्रकारको पनि रहेको छ । ट्रेलरमा राजनीतिसँगै पारिवारिक द्वन्द्व पनि जोडिएको छ ।

चलचित्रमा सीताराम कट्टेल र कुञ्जना घिमिरे श्रीमान् श्रीमतीको भूमिकामा छन् । फरक पार्टीमा आबद्ध ‘धुर्मुस’र‘सुन्तली’ बीचको नोकझोंकलाई ट्रेलरमा विशेष स्थान दिइएको छ । दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङलाई पनि ट्रेलरमा देख्न सकिन्छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण अभियानका लागि बनाइएको भनिएको चलचित्रको ट्रेलरमा रङ्गशाला को प्रचार गरिएको छ ।

रामबाबु गुरुङको निर्देशनमा रहेको चलचित्रमा सिताराम र कुञ्जनाका अलावा दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतका कलाकारहरुको पनि अभिनय छ । रुपाकोट र पोखरामा छायांकन भएको चलचित्रको सम्पूर्ण दृश्य शैलेन्द्र डि. कार्कीले खिचेका हुन् ।

‘सेन्टी भाइरस’ बाट पहिलो पटक ‘धुर्मुस-सुन्तली’ चलचित्र निर्माणमा होमिएका हुन् । उनीहरुको होम प्रोडक्सन कम्पनी सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई डिन्डु लामा ह्योल्मोले निर्माण गरेकी हुन् भने सह-निर्मातामा फूर्पा लामा रहेका छन् । ‘सेन्टी भाइरस’मा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बास्कोटाको सङ्गीत, निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ ।

कलाकार सितारामले चलचित्र हेर्न काटेको टिकटको रकम रंगशाला निर्माणमा सहयोग हुने भएका कारण सम्पूर्ण नेपालीलाई फिल्म हेर्न आग्रह गरे । कुञ्जनाले भने ‘सेन्टी भाइरस’ बाट आफ्नो बाल्यकालदेखिको अभिनेत्री बन्ने सपना पूरा भएकोमा खुसी व्यक्त गरिन् ।

पहिले चलचित्रको १५ प्रतिशत नाफा मात्र चितवनमा निर्माण भैरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा खर्च गरिने भनिएको भए पनि अब भने ५० प्रतिशत नाफा खर्च गरिने बताइएको छ । २ करोडको लागतमा बनेको चलचित्र फागुन ९ गते (महाशिवरात्री) मा नेपालभर प्रदर्शन हुँदै छ । केही समय अघि सार्वजनिक गरिएको चलचित्रको ‘फनफनी’ बोलको गीतले पनि राम्रो प्रतिक्रिया पाइरहेको छ ।

Leave a Reply