‘द पोइट आइडल’ पुस १४ देखि प्रसारण हुने

नेपालकै पहिलो कवितामा आधारित रियालिटी सो ‘द पोइट आइडल’ पुस १४ देखि प्रसारण हुने भएको छ । प्रसिद्ध कवि क्षेत्रप्रताप अधिकारीका छोरा अमनप्रताप अधिकारीको निर्माण तथा निर्देशन रहने रियालिटी शोको प्रसारण एपीवान टेलिभिजनमा पुस १४ अर्थात् बिहीबार साँझ ८ः३० बाट हुने भएको हो । शो हरेक साता बिहीबार र शुक्रबार प्रसारण हुनेछ । त्यसका साथै ओएसआर रियालिटी युट्युब च्यानलमा पनि प्रसारण हुने छ ।

असोज अन्तिमसम्म भएको अडिसनका लागि नेपालबाट १ सय ६२ जना छानिएका थिए भने विदेशबाट अनलाइन अडिसन दिनेको सङ्ख्या ५० भन्दा बढी रहेको थियो । डिजिटल अडिसनबाट छानिएका सहभागीहरूमध्येबाट विभिन्न चरणहरू पार गर्दै १४ जना कविहरू छानिने छन् । सोमा सहभागी कविहरूले कविता लेखन र वाचन गर्नेछन्, र कविता लेख्नका लागि छुट्टाछुट्टै विषय पनि दिइनेछ ।

प्रतियोगिताको निर्णायकमा कविद्वय विप्लव ‘प्रतिक’ र उपेन्द्र सुब्बाका साथमा निर्देशक तथा रंगकर्मी अनुप बराल र अभिनेत्री सुरक्षा पन्त रहनेछन् । कार्यक्रम अभिनेता दिव्यदेव पन्तले सञ्चालन गर्नेछन् । ‘द पोइट आइडल’को विजेता कविले दस लाख रूपियाँ नगद पाउने छन् । साथै, यात्रा पब्लिसिङ्ग हाउसका तर्फबाट विजेता कविको ५ लाख बराबरको कवितासङ्ग्रह प्रकाशन गरिनेछ ।

Leave a Reply