सुहानाले नाजिरको ‘गुलाबी’ वितरण गर्दै

अभिनेत्री सुहाना थापाले फिल्म वितरण व्यवसाय सुरु गरेकी छन् । उनी सीईओ रहेको कम्पनी त्रिनेत्रम डिस्ट्रिब्युसनले चलचित्र ‘गुलाबी’ वितरण गर्ने भएको छ। मंगलवार सुहाना र फिल्मकी निर्देशक समुन्द्र भट्टबीच सम्झौता पत्र आदान-प्रदान भएको छ । मंगलवार नै फिल्मको डिजिटल राइट्स पनि विक्री भएको छ । ओएसआर डिजिटलले फिल्मको युट्युब राइट्स खरिद गरेको हो ।

समुन्द्र भट्टको निर्देशनमा निर्माण भएको चलचित्र ‘गुलाबी’को छायांकन सकिएको छ । कास्कीको धम्पुसबाट छायांकन सुरु भएको चलचित्रको आइतवार छायांकन सकिएको हो । ठमेलमा अन्तिम दृश्य खिचिएसँगै ३२ दिनमा चलचित्रको छायांकन सकिएको छ ।

पारलैङ्गिकताको कथामा निर्माण भएको चलचित्रमा अभिनेता नाजिर हुसेनको मुख्य भूमिकामा रहेको छ । चलचित्रमा अभिनेत्री सञ्चिता लुइँटेलको पनि मुख्य भूमिका रहेको छ । चलचित्रमा नाजिर र सञ्चितासँगै सुशिल सिटौला, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’ मुख्य अभिनयमा छन् । निर्देशक भट्टकै कथामा बन्न लागेको चलचित्रमा पटकथा तथा संवाद रामकुमार श्रेष्ठ र नाजिर हुसैनको छ ।

दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानर र अनुपम फिल्मस् सँगको सहकार्यमा निर्माण भएको ‘गुलाबी’लाई आलोक शुक्लाले छायांकन गरेका हुन् । भद्र भुजेल एसोसिएट निर्देशक रहेको चलचित्रमा पुष्कर लामाको निर्माण नियन्त्रण छ भने निर्माण व्यवस्थापकमा यम वली छन् । सीमा गुरुङको शृङ्गार छ ।

Leave a Reply