‘प्रेमगीत ३’ को छायांकन सम्पन्न

यस वर्षको बहुप्रतिक्षीत चलचित्रमध्य एक ‘प्रेमगीत ३’ को ७० दिनमा छायांकन सम्पन्न भएको छ। चलचित्रको सुटिङ प्याकअप भएको निर्माता सन्तोष सेनले जानकारी दिए । गएको एक महिनादेखि मनाङको माइनस डिग्री तापक्रममा चलचित्रको छायांकन भैरहेको थियो । मंगलवार छायांकन सकिएपछि बुधवार चलचित्रको टिम काठमाडौं आइपुगेको छ । मनाङ प्रस्थान गर्नुभन्दा अगाडि ‘प्रेमगीत ३’ को ४५ प्रतिशत दृश्य काठमाडौंको कीर्तिपूरमा भव्य सेट निर्माण गरेर खिचिएको थियो ।

चलचित्रको अब एक प्रोमोसनल गीत खिच्न बाँकी रहेको निर्माता सेनले बताए । चलचित्रको छायांकन सँगसँगै सम्पादन पनि एकसाथ चलिरहेको थियो । अब, चलचित्रको कलर करेक्सन, ब्याकग्राउन्ड स्कोर र डबिङको काम सुरु हुने बताइएको छ ।

चलचित्रमा प्रदीप खड्का तेस्रो पटक ‘प्रेम’को रुपमा देखिँदैछन् भने नव-अभिनेत्री क्रिस्टिना गुरुङ ‘गीत’ र सन्तोष आफैँ ‘अंगत’को भूमिकामा पर्दामा देखिनेछन् ।प्रदीप र क्रिस्टिनाका साथमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको पनि अभिनय हेर्न सकिनेछ ।

डेढ सय वर्ष अगाडिको कथा समेटिएको चलचित्रमा आफु नकारात्मक भूमिकामा देखिन लागेको निर्माता सेनको भनाइ छ ।सन्तोष सेनको लगानीमा बन्न लागेको चलचित्रमा चत्र बहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्माताको रुपमा रहेका छन् । कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको चलचित्रमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर भरेका छन् । तीन करोड लागतमा बनेको चलचित्रमा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

नयाँ वर्षको छेको पारेर चलचित्रलाई चैत्र २८ गते रिलिज गरिने तयारीमा रहेको छ । यो चलचित्रको बक्सअफिसमा अभिनेत्री स्वस्तिमा खड्का स्टारर चलचित्र ‘चपली हाइछ ३’ सँग भिडन्त हुँदैछ ।

Leave a Reply