नेपालमा छैठौँ सातामा ‘महापुरूष’, मध्यपूर्वी देशमा समेत प्रदर्शन आरम्भ

चलचित्र ‘महापुरूष’ प्रदर्शनको छैठौँ हप्तामा प्रवेश गरेको छ । नेपालसँगै संयुक्तराज्य अमेरिका, अष्ट्रेलिया, युरोपमा प्रदर्शन भइरहेको चलचित्र डिसेम्बर १ देखि मध्यपूर्वी देशहरू कतार, ओमान, बहराइन र युएईमा समेत प्रदर्शन आरम्भ गरेको छ । नेपालमा दर्शकबाट पाइरहेको समीक्षाले विदेश प्रदर्शनलाई मदत पुगेको छ । यस्तै, अमेरिकाको डलासबाट सुरू भएको प्रदर्शन ‘५१ औँ’ दिन तर्फ लम्किरहेको छ । नेपालकै हलमा प्रदर्शन भएर यसले दश करोड रुपैयाँ ग्रस कलेक्सन गरिसकेको छ । स-परिवार नै चलचित्र हेर्न हलसम आउने हुँदा पनि यसको दर्शक बढिरहेका छन् ।

चाडपर्व सकिएपछि प्रदर्शनमा आएको ‘महापुरूष’ लाई विदेशी चलचित्रले असर गरेको छैन । हप्तैपिच्छे प्रदर्शनमा आउने विदेशी चलचित्रले शुक्रबार र शनिवार शोमा असर गरेता पनि दर्शकको खोजीमा परेपछि ‘महापुरूष’ उही लयमा फर्किरहेको छ । अर्थात् चलचित्रले प्राप्त गरेको शोहरू दिउसो र रात्रिसमयको हाउसफुल छन् । यसैले गर्दा पनि पहिलो दिन पाएको शो र छैठौँ सातामा पाएको शोहरूमा भिन्नता छैन ।

चलचित्रले परिवारलाई जोड्ने काम समेत गरिरहेको लेखक तथा निर्देशक प्रदीप भट्टराईले बताए । ‘हाम्रो फिल्म हेर्न परिवार जम्मा भएर आइरहनु भएको छ । फिल्म हेर्ने बहानामा उहाँहरूको घुमघाम समेत भइरहेको छ’, निर्देशक भट्टराईले भने,‘फिल्मले स्वदेशसँगै विदेशबाट पाइरहेको माया र प्रतिक्रियालाई धन्यवाद भन्ने शब्द नै हामीसँग छैन । समाजमा गाडिएको गम्भीरविषयलाई पर्दासम्म ल्याउन यसले हामीलाई थप बल मिलेको छ ।’ छैठौँ हप्तामा चलचित्रले मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आफ्ना आउटलेटमा ११ शो पाएको छ । क्युएफएक्स अन्तर्गत भक्तपुरमा रहेको क्युएफएक्समा २ शो, लबिम मलमा २ शो , सिभिल मलमा २ शो , ठमेलमा रहेको छायाँ सेन्टरमा १ शो दिएको छ । क्युएफएक्सकै मोफसल अन्तर्गत नेपालगन्जमा १ शो, नारायणघाटमा रहेको जलमामा २ शो, विर्तामोडमा १ शो दिएको छ ।

काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा १ शो, जमलमा रहेको विश्वज्योति सिनेप्लेक्समा १ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा २ शो, किर्तिपुर सिनेप्लेक्समा १ शो, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्समा ३ शो, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा २ शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा ३ शो रहेको छ । बानेश्वरमा रहेको वान सिनेमाजमा १ शो र कालिमाटीमा २ शो दिएको छ । यस्तै, आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा २ शो र बुटवलमा रहेको आइएनआइमा २ शो दिएको छ । पाँचौ सातामा शोहरू यथावत रहनुले दर्शकको आकर्षण कम नभएको स्पष्ट हुन्छ ।

संयुक्तराज्य अमेरिकामा समेत यसले ५१ औँ दिनको यात्रामा रहेको चलचित्र ‘महापुरूष’ अष्ट्रेलियाको विभिन्न सहरमा समेत प्रदर्शन भइरहेको छ । मिडल इस्टका देशहरूमा प्रदर्शनको अधिकार लिएका निप फिल्म्सका संचालक रमेश ढकालले भक्स, नोभा, स्टार, रोयल, ओस्कार, सिनेको, सिनेपोलिस लगायतका सिनेमाजहरूमा चलचित्र ‘महापुरूष’ प्रदर्शन भइरहेको जानकारी दिए ।

‘कबड्डी ४ पश्चात महापुरूषको डिमाण्ड धेरै छ । यसलाई विदेशी फिल्म झैँ रेगुलर शोमा प्रदर्शन गरेका छौँ । अन्य फिल्म झैँ बक्सअफिसमा टिकेट लिएर यहाँ समेत फिल्म हेर्न पाइन्छ’, वितरक ढकालले भने,’विस्तारै यहाँ नेपाली फिल्मको दर्शक बढिरहेका छन् । राम्रो फिल्महरू आउँदा बजार विस्तारमा टेवा पुग्छ । म विगत केही वर्षदेखि यहाँ फिल्म प्रदर्शनको लागि अहोरात्र मेहनत गरिरहेको छु ।’

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा रहेका छन् । चलचित्रमा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबस गर्ने अवकासप्राप्त शिक्षक मार्फत पिता र एलकपुरुषसँगै एक्लोपनकथा चलचित्रमा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ ।

षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित चलचित्रमा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा चलचित्र निर्माण गरेको छ । चलचित्रमा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही चलचित्रबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा चलचित्रमा डेब्यु गरेका छन् । चलचित्रको पार्श्व ध्वनिमा रोहित शाक्य / शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ, रंग संयोजनमा कपिल पराजुली, मिडिया कसल्टेन दिनेश सिटौला फिल्म्स, पब्लिसिटी डिजाइन ट्राइडेन्ट, सहायक निर्देशक शान्तिम कोइराला र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।

Leave a Reply