‘डिसेम्बर फल्स’को गीतमा उपासनालाई ‘फकाउनै जानिनँ’ भन्दै आर्यन

आगामी पुष १५गते अर्थात् ३० डिसेम्बरबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको प्रेम कथानक चलचित्र ‘डिसेम्बर फल्स’को पहिलो गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘फकाउनै जानिनँ’ बोलको गीतमा दीपक शर्माको शब्द रचना तथा संगीत छ भने निशान भट्टराई र मेलिना राईको स्वर सुन्न सकिन्छ । गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ।

भक्तपुर दरबार स्क्वायरमा भब्य सेट निर्माण गरी चार दिन लगाएर खिचिएको गीतमा आर्यन र उपासना सय भन्दा बढी कोरसका साथ छमछमी नाचिरहेका छन् । गीतमा उनीहरुको केमेस्ट्री निकै सुहाएको छ । फस्र्टलुक पोस्टर र टिजर आउट भएसँगै चर्चामा रहेको एक्सन लभस्टोरी चलचित्रमा आर्यनको प्रेमीकाको रुपमा देखिदैछिन्, उपासना । आर्यन र उपासना पहिलोपटक संगै अभिनीत ‘डिसेम्बर फल्स’ वर्षकै प्रतिक्षित चलचित्रका रुपमा रहेको छ ।

कार्यक्रममा अभिनेता आर्यनले ‘डिसेम्बर फल्स’ बाट आफूले बिगतमा भन्दा अझै धेरै दर्शकका माया पाउने बिश्वास ब्यक्त गरे । उनले आफू केही समयको बिश्रामपछि पुनः यसै फिल्मबाट पर्दामा आउन लागेकोमा निकै उत्साहित रहेको बताए । ‘यो फिल्ममा दर्शकले मेरो दुईटा रुप पाउनु हुनेछ,’ उनले भने,‘फिल्म एक्शन,लभ,कमेडी र सेन्टिमेन्टन्स, सबै कुराको मिक्स अप छ । कम्प्लीट प्याकेज हेर्न पाउनु हुनेछ ।’

अभिनेत्री उपासनाले पहिलोपटक आर्यनसँग अभिनय गर्दा धेरै कुरा सिक्न र बुझ्न पाएको बताइन् । ‘एक्दम अनुभवी कलाकार तथा टिमसँग काम गर्न पाउदा धेरै कुरा सिक्ने अबसर पाएँ,’ उनले भनिन्, ‘मेरा अघिल्ला फिल्महरुलाई झै यसलाई पनि मन पराउनुहुनेछ भन्ने बिश्वास लिएकी छु ।’ कोरियोग्राफर रामजीले ‘फकाउनै जानीनँ’ गीतका लागि सबैले अत्यन्तै मिहिनेत गरेको र निर्माताले दिल खोलेर पैसा लगाएको बताए । ‘पछिल्लो समय यत्तिको लगानी भएका गीत कमै बनेका छन,’ उनले भने, ‘दर्शकले अबश्य पनि मन पराउनेमा हामी ढुक्क छौ ।’

भारतीय चलचित्र उद्योगमा कार्यरत निर्देशक प्रवीण ओझाको निर्देशन र महेश आर गुप्ताको छायांकन रहेको चलचित्रलाई युवा निर्माता रामप्रसाद रिजालले निर्माण गरेका हुन् । रिजालले यसअघि ‘वान डे’, ‘कसम’,धुवाँ यो नशा’ र ‘कायरा’ निर्माण गरिसकेका छन् । ‘डिसेम्बर फल्स’ उनको पाँचौ चलचित्र हो । आर्यन, उपासना, सुमन थापा, नरेश भट्टराईका साथमा सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिसिर राणालगायत कलाकारको अभिनय रहेको चलचित्र रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो ।

रामप्रसाद रिजालको प्रस्तुति, लक्ष्मण रिजाल र असिम काफ्ले कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा रामप्रसाद रिजाल र राजकुमार भट्ट छन् । बिपीका खनालको कथा, केदार भुसाल र प्रतिक पौडेलको पटकथा/सम्वाद रहेको चलचित्र बनिष शाहले सम्पादन गरेका हुन् । दीपक शर्मा, कोसिस क्षेत्री, सुसान्त गौतम र प्रतिक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामीछाने, शिसिर खाती र प्रवीण सिंहको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको चलचित्रलाई श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले वितरण गर्दैछन् ।
हेर्नुस् गीत-

Leave a Reply