‘जात्रा’को सिक्वेल ‘महाजात्रा’ निर्माण हुने

सन् २०१६ मा प्रदर्शन भएको सुपरहिट चलचित्र ‘जात्रा’को तेस्रो श्रृंखला निर्माण हुने भएको छ । निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराईले चलचित्रको निर्माण तयारी थालेका हुन् ।

षट्कोण आर्ट्सले आफ्नो पाँचौं प्रोजेक्टको रुपमा ‘महाजात्रा’ नामाकरण गरिएको चलचित्रको यतिबेला पटकथा लेखन कार्य भइरहेको छ । जात्राको दोस्रो श्रृंखला ‘जात्रैजात्रा’ सन् २०१९ मा प्रदर्शन भएको थियो । ‘जात्रा’को दुवै श्रृंखलामा अभिनेता विपिन कार्की मुख्य भूमिकामा थिए भने दोस्रो श्रृंखलामा दयाहाङ राई जोडिएका थिए । त्यस्तै, दुवै श्रृंखलामा अभिनेत्री वर्षा राउत मुख्य भूमिकामा थिइन् ।

यतिबेला भट्टराई निर्देशित चलचित्र ‘महापुरुष’ प्रदर्शनरत छ । प्रदर्शनको दिनदेखि नै घरेलु बक्सअफिसमा चलचित्रले आक्रामक कमाइ गरिरहेको छ र दर्शकले निकै रुचाइरहेका छन् । चलचित्रले ६ करोड रुपैयाँ ग्रसभन्दा बढी कमाइ गरेको छ । प्रदर्शनकै दिन देखि हल पुगेर निर्माण टिमले प्रतिक्रिया समेत लिईरहेका छन् । हलसम्म आइपुगेका दर्शक चलचित्र हेरिसकेपछि निर्माण टिमलाई बधाई दिदै निस्किरहेका छन् । ‘महापुरुष’ सुपरहिट भएसँगै निर्देशक भट्टराई र निर्माता तथा कलाकार बानियाँ ‘महाजात्रा’को तयारीमा जुटेका हुन् ।

Leave a Reply