मानिसको भावनात्मक कथा ‘को आफ्नो’

गत शुक्रबारबाट नेपाली हलहरुमा नेपाली चलचित्र ‘को आफ्नो’को प्रदर्शन भैरहेको छ । एक पृथक ढंगबाट बनेको यस चलचित्रलाई अनिल थापाले निर्देशन गरेका हुन् । चलचित्रमा ऋचा शर्मा, शुशांक मैनाली, सुवास थापा, मेनुका प्रधान, राजन खतिवडा, शान्ति गिरी, सुदाम सी.कि. लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रलाई अनिल थापालेनै लेखन तथा निर्माण गरेका हुन् । एट ट्वेन्टि फिल्म्सको प्रस्तुतीमा बनेको यस चलचित्र एक पारिवारिक कथा र मानव भावनासँग सम्बन्धित रहेको छ ।

कथावस्तु : चलचित्रको कथा वस्तुलाई ठिकै मान्न सकिन्छ । गरिबि र सन्तानको चाहले गर्दा मानिसले गर्ने सकारात्मक र नकारात्मक कार्यलाई चलचित्रको पहिलो भागमा देखाइएको छ भने सन्तानको मायाँ र युवा समस्या साथै मायाँ प्रेमका उतारचढावलाई दोश्रो भागमा देखाउन खोजिएको छ । कथा वस्तु निकै घुमेको छ । पैसाको मोहले मानिस कुन हदसम्म पुग्छ ति कुराले आँखा भिजाउँछ र त्यसैमा चलचित्र पनि टुंगिन्छ । घटनाहरु एक पछी अर्को फरक छन् र तिनै घटनाको प्रभाव अर्को घटनामा परेको कुरा यसको राम्रो पक्ष हो । चलचित्रका केहि ठाउँमा भने कथा अस्पष्ट छ । केहि दृश्यहरु नभएकै भए पनि चलचित्रलाई असर नपर्ने देखिन्छ । नेपाली समाजमा हुने गरिब र धनि दुबैको कथा चलचित्रमा समावेश गरिएको छ ।

प्रस्तुती : चलचित्रको कथावस्तुलाई लिएर जुन प्रस्तुती चलचित्रमा छ त्यो भने तारिफ योग्य छ । चलचित्रको स्क्रिन प्ले मजबुत छ । त्यसैले पनि के पछी के हुन्छ दर्शकले अनुमान गर्न सक्दैनन् र आफ्नै सुरले चलचित्र अगाडी बढ्छ । कतै कतै कथाले एकदमै ढिला मोड लिए पनि त्यसमा सम्बादले गर्दा हेर्ने चाह बनाइ राख्छ ।

अभिनय : कलाकारको अभिनय यस चलचित्रमा एकदमै बलियो पाटो हो । एकदमै प्रतिभावान र अनुभवी कलाकारले भरिएको चलचित्र हो ‘को आफ्नो’ भन्दा केहि फरक नपर्ला । कतै पनि लाग्दैन कि म चलचित्र हेर्दै छु । रियलस्टिक अभिनय सबै कलाकारबाट निर्देशकले बाहिर ल्याएका छन् । चलचित्रमा शुशांक मैनाली, ऋचा शर्मा, सुवास थापा, मेनुका प्रधान लगायत सबै आफ्नो प्रस्तुतीमा डुबेका छन् । हाउ भाउ देखि लिएर सम्बादमा पनि कलाकारले उत्कृष्टता दिएका छन् । जुन अनुहारको भाव हो त्यो प्राकृतिक देखिएको छ, कुनै बनावटी छैन । परिवेश र मोड अनुसार कलाकारको प्रस्तुती ए-वन छ । नेपालमा कमै कलाकारमा मात्र यतिको अभिनय गर्ने कला होला भन्दा केहि फरक नपर्ला । अभिनयमा कतै खोट लगाउने ठाउँ छैन ।

निर्देशन : निर्देशकीय पक्ष यस चलचित्रको बलियो पक्षमानै पर्दछ । चलचित्रमा कलाकारको हाउभाउ देखि लिएर कथालाई पात्रमा भिजाएको महसुस पक्का गर्न सकिन्छ । ऋचाको लुक्सलाई हेर्ने हो भने चलचित्रमा देखिएकी ऋचा र बाहिर देखिएकी ऋचा निकै फरक छिन र त्यसलाई जीवन्त तुल्याउन गरिएको मेहनत निर्देशकीय पक्ष हो । जुन सोचले ऋचाको गेट अप बनाइयो त्यो नै नेपाली चलचित्रमा गरिएको एक प्रयोग हो, जुन सफल भएको छ । गाउँ ठाउँ र परिवेशलाई निर्देशकले दुरुस्त देखाएका छन् । समय सापेक्ष चलचित्रलाई बनाउन कुनै कसर बाँकी राखिएको छैन । चलचित्रमा भएका कुराहरु निकै बैज्ञानिक ढंगबाट प्रस्तुत गरिएका छन् ।

अन्य : चलचित्रको छायांकान पक्ष देखि लिएर सम्पादन पक्ष निकै आकर्षक छ । चलचित्रको ब्याकग्राउण्ड म्युजिक ससक्त छ । चलचित्रमा प्रयोग भएका शब्दमा केहि व्याकरणका गल्तिहरु त छन् तर त्यसले चलचित्रलाई कुनै असर पारेको छैन । चलचित्रको विभिन्न कुरालाई अवलोकन गर्दा यसले विभिन्न विधामा अवार्ड हात पार्ने एक आर्ट मुभी बनेको बुझिन्छ ।

Leave a Reply