निखिल र सञ्चिताका छोराले ‘नाईं नभन्नू ल ६’बाट डेब्यू गर्दै

चलचित्र ‘नाईँ नभन्नू ल’को छैटौं सिरिज ‘नाइँ नभन्नु ल ६’को बिहीबारदेखि छायांकन सुरु हुँदैछ । विकासराज आचार्यको निर्देशन रहने चलचित्रबाट अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुईंटेलका छोरा अथर्व उप्रेतीले चलचित्रमा डेब्यू गर्दै छन् । उनले बाल कलाकारको रुपमा अभिनय गर्दैछन् । चलचित्रमा उनी नव-अभिनेता आर्शिवाद क्षेत्रीको बाल्यकालको भूमिकामा देखिनेछन् । चलचित्रमा अभिनेत्री आँचल शर्मा र आर्शिवाद क्षेत्रीको मुख्य भूमिका रहनेछ । चलचित्रमा आशीर्वाद र आँचलको जोडी बाँधिनेछ । अथर्वको दशैं र तिहारको विद्यालय विदा पारेर निर्देशक आचार्यले चलचित्रको छायांकन सुरु गर्न लागेका हुन् ।

त्यस्तै,‘नाईँ नभन्नू ल’को दोस्रो श्रृंखलादेखि आवद्ध कलाकार अनुभव रेग्मी छैटौं सिरिजमा पनि नछुट्ने भएका छन् । यद्यपि, उनी मुख्य भूमिकामा नभएर केमियो भूमिका मात्र रहनेछ । विकासराज आचार्य र सामिप्यराज तिमल्सिनाको कथा रहेको यस चलचित्रमा अथर्वसँगै योगिशा खत्री, एल्बिना र थुप्रै बाल कलाकारको मुख्य भूमिका रहनेछ। पुरुषोत्तम प्रधानको छायांकन रहने चलचित्रलाई आगामी नयाँ वर्ष अर्थात् बैशाख १ गते प्रदर्शन गर्ने तयारीमा निर्माण टिम रहेको छ ।

Leave a Reply