ऐतिहासिक चलचित्र ‘नालापानी’लाई कर छुट दिन अर्थ मन्त्रालयलाई पत्राचार

तिहारको अवसर पारेर कार्तिक ४ गतेबाट प्रदर्शन हुने ऐतिहासिक चलचित्र ‘नालापानी’लाई कर छुट दिन चलचित्र विकास बोर्डले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । बोर्ड अध्यक्ष भुवन केसीले यो चलचित्रलाई कर छुट दिन पहल सुरु गरेका हुन् । नेपाल-अंग्रेजबीचको नालापानी युद्धबारे बनेको चलचित्रलाई कर छुट दिन पहल गरिएको हो । बुधबार सञ्चार सचिव डा. बैकुण्ठ अर्यालसँग चलचित्रलाई कर छुट प्रदान गर्ने व्यवस्था मिलाउन आफूले आग्रह गरेपछि सचिवले अर्थ मन्त्रालयमा पत्राचार गरेको हो ।

चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ स्पेशल अवार्ड पाएको यो चलचित्रका निर्देशक रिमेश अधिकारी हुन् । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो चलचित्र निर्माण भएको हो । चलचित्रको रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् ।

यस चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीता बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड), बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।

रिमेश अधिकारी फिल्म प्रोडक्सन प्रा.लि., वीर गोर्खाली फिल्मस प्रा.लि., गंगा नारायण फिल्म प्रोडक्सन प्रा.लि. र बिजी बी इन्टरटेन्मेन्ट प्रा.लि. को ब्यानरमा निर्माण ‘नालापानी’मा भिएफएक्स अच्युत गजुरेल, छायांकन राम शरण उप्रेती, सम्पादन बिपिन मल्ल, द्वनद्व निर्देशन रोशन श्रेष्ठ, नृत्य निर्देशक कबिराज गहतराज, संगीत डिजे एलेक्स र सुजिल कर्माचार्यको रहेको छ । राम भट्टराई र हरि उप्रेतिले रचना गरेका चलचित्रका गीतमा गायक राजेश पायल राई, मेलिना राई र रानी शाक्य स्वर रहेको छ । ‘नालापानी’का एशोसियट निर्माता सपन कुमार थापा, सहनिर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्माता मनोज शाक्य र रिमेश अधिकारी हुन् ।

Leave a Reply