सृष्टि श्रेष्ठको ‘राधा’ नेपाल अघि चीनमा प्रदर्शन हुने

आगामी भदौ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको सुवर्ण थापा निर्देशित चलचित्र ‘राधा’ नेपालअघि नै चीनमा प्रदर्शन हुने भएको छ । ग्वान्झाओस्थित नेपाली महावाणिज्य दूतावासको पहलमा अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्रलाई देखाइन लागिएको हो । चाइना पर्फमेन्स इन्डस्ट्री एसोसिएसनले आयोजना गर्ने बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल २०२२ मा ‘राधा’ले प्रदर्शनको मौका पाएको हो । महावाणिज्य दूतावासका अनुसार साउन ३० गते चलचित्र प्रदर्शनको तयारी छ ।

नेपाली चलचित्रलाई चिनियाँ बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिभलको आयोजक समितिले राधालाई छनोट गरेको दूतावासद्वारा प्रेषित पत्रमा उल्लेख छ । दूतावासले चलचित्र निर्मातासँग चलचित्रको पूर्ण स्क्रिप्ट र सारांश भिडियो पनि मागेको छ ।

‘द सिक्रेट अफ राधा’लाई अभिनेता सौगात मल्लसँग मिलेर निर्देशक थापाले निर्माण गरेका हुन् । चलचित्रमा सृष्टिका अलावा सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, राजन खतिवडा, लोकेन्द्र लेखक, दयाहाङ राई, निश्चल बस्नेत, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । ‘राधा’ आमाको सम्झनामा निर्माण गरेको निर्देशक थापाले बताएका छन् । चलचित्रमा रंगकर्मी सुनिल पोखरेल पनि अतिथि भुमिकामा देखिने छन् ।

आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट युके, मन्डला अनलाइन र एएमआइ फिल्मस्को प्रस्तुती र मन प्रोडक्सनको एसोसिएनमा निर्माण र बिरजना इन्टरटेनमेन्ट तथा बिक्रमदास जोशी सह-निर्माता रहेको चलचित्रमा सुवर्ण थापाको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।

Leave a Reply