‘ए मेरो हजुर ४’बाट दुर्गेश थापालाई हटाइयो

आगामी वैशाख १ गतेबाट प्रदर्शन हुने चलचित्र ‘ए मेरो हजुर ४’बाट दुर्गेश थापालाई निकालिएको छ । चलचित्रको एक गीतमा उनले र्‍यापरको भूमिकामा अभिनय गरेका थिए । तर चलचित्रमा रहेको दुर्गेशको डेढ मिनेट लामो दृश्यलाई हटाइएको छ ।

दुर्गेशको आवाजमा रहेको चलचित्रको गीत केही दिनमा सार्वजनिक गर्ने तयारीमा निर्माण टिम थियो । तर, वर्तमान परिस्थितिलाई ध्यान दिंदै दुर्गेश प्रस्तुत भएको दृश्यले चलचित्रलाई असर पर्ने देखेपछि निर्माण टिमले उनी देखिएको दृश्य हटाएको छ ।

अभिनेता पल शाह प्रकरणका कारण मोडल तथा गायक दुर्गेश थापा समेत चर्चामा छन् । शाह प्रकरणमा जोडिएपछि उनले यसअघि पनि आफ्नो प्रोजेक्टहरु गुमाएका थिए र केही महोत्सवहरुबाट पनि उनलाई बहिष्कार गरिएको थियो।

सुनिल कुमार थापा प्रोडक्शनको ब्यानरमा बनेको यो चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । ‘ए मेरो हजुर ४’ मा अनमोल र सुहाना संगै सलोन बस्नेत,सुशान्त खत्रीको पनि मुख्य भूमिका रहेको छ । चलचित्रमा बसन्त सापकोटा, आशिष अविरल, प्रतिक पौडेल, कल्याण सिंहको संगीत, संजय लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको एक्सन, मित्र डी गुरुङको सम्पादन छ ।

‘ए मेरो हजुर ३’बाट निकै रुचाइएको अनमोल र सुहानाको यस चलचित्र निकै प्रतीक्षित बनेको छ । अनमोल र सुहानाले अभिनय गरेको ‘ए मेरो हजुर ३’ बक्सअफिसमा सुपरहिट सावित भएको थियो । यहि चलचित्रबाट डेब्यु गरेकी सुहानाको अभिनयलाई दर्शक र समिक्षकले रुचाएका थिए ।

Leave a Reply